Loading... आजः २०८१, २७ पुष शनिबार

हिमाली जिल्लामा स्वास्थ्यकर्मीलाई पीपीई अभाव

कर्णाली प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीले कोभिड—१९ को सम्भावित जोखिम हुन नदिन व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अभाव रहेका गुनासो गरेका छन् ।

विशेषगरी हिमाली जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले सो गुनासो राखेका हुन् ।

सो सामग्री अभाव विना बिरामीलाई जाँच गर्नुपरेको तिला गाउँपालिका–९ राँसा स्वास्थ्य चौकी जुम्लाका प्रमुख हर्कबहादुर रावतले बताए ।

उनले भने, ‘स्वास्थ्य क्षेत्रमा आइपर्ने विसम् परिस्थितिमा जहिले पनि पहिलो घेरामा रहेर काम गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मी नै हुन्छन् । उनीहरु व्यक्तिगत सुरक्षा सामग्रीसहित हुनुपर्छ तर हामी पीपीई, एन–९५ मास्कका कुरा छोडौं, सर्जिकल मास्क नहुँदा गाउँमै कपडाको मास्क सिलाएर लाउन बाध्य छौँ । यस्तो स्थितिमा स्वास्थ्यकर्मीले कस्तो मनस्थितिले काम गर्न सक्छन् ?’

प्रमुख रावतले भने, ‘अर्काको सुरक्षा दिने हामी सुरक्षाकर्मी आफैँ असुरक्षित छौँ । हामी कसरी उहाँहरूको सुरक्षा गर्न सक्छौँ ? स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी, छाती दुख्ने समस्याका बिरामी आउने क्रम बढेको छ । उनीहरुलाई जाँच गर्न नै डर लागेर आउँछ ।’

सरकारले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताभन्दा पनि स्वास्थ्य सामग्रीले मजबुत बनाउँदा कोरोनाको सम्भावित सङ्क्रमणबाट बच्न सबैलाई सहयोग पुग्ने उनको भनाइ थियो ।

उनले प्रश्न गरे १० जना कर्मचारी भएको स्वास्थ्य चौकीमा एउटा पीपीई सेटले कति सेवा दिन सकिन्छ ?

स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले महत्वपूर्ण केसको जाँचमा लगाउनेगरी जिल्लाका ३० वटा स्वास्थ्य चौकीमा एक/एक पीपीई सेट उपलब्ध गराइएको जानकारी दिए ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले स्वास्थ्य सामग्री किन्नका लागि प्रत्येक जिल्लामा रु दुई लाख ५० हजारका दरले पठाइएको जानकारी दिए ।

‘स्वास्थ्य सामग्री अभाव भएकाले सरकारले सामग्री खरिद गरिरहेको छु’, उनले भने, ‘अब हामी जतिसक्दो चाँडो प्रदेशभरिका स्वास्थ्य संस्थामा पठाउँछौं ।’