जुम्लामा ३ सय २४ जनाको स्वाब संकलन
जुम्ला : जिल्लामा मंगलबार तीन स्थानमा घुम्ती शिविर नै सञ्चालन गरी कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ। केन्द्र सरकारको पहलमा हेलिकप्टर नै ल्याएर स्वाब संकलन गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा स्वाब संकलन गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्।
भारत र तेस्रो मुलुकबाट आएका २ सय ५३ जनाको स्वाब मात्र नभई तिनका परिवारका अन्य सदस्यको पनि स्वाब संकलन गरिएको छ। केन्द्रबाट आएको नेपाल प्रहरीको मेडिकल टोली र प्रतिष्ठानका मेडिकल टोलीले तीन स्थानमा तीन सय २४ जनाको स्वाब संकलन गरेको छ।
टोलीले जुम्ला विमानस्थलमा चन्दननाथ नगरपालिका, तातोपानी, तिला, गुठिचौर र पातारासी गाउँपालिकाका एक सय ५० जनाको स्वाब संकलन गरेका छ। यस्तै कनकासुन्दरी गाउँपालिकाको लासी पाटनमा ५० जना र हिमा गाउँपालिकाको देवारगाउँ टापुमा एक सय २४ जनाको स्वाब संकलन गरिएको छ। यसअघि प्रशासन कार्यालयले संकलन गरेको डाटामा भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिहरुको संख्या दुई सय ५३ थियो।
तर बाहिरबाट आएकाहरुको परिवारको समेत स्वाब संकलन गर्दा ३ सय २४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा कोभिड १९ क्राइसिस व्यवस्थापन टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले जुम्लाका आठै वटा स्थानीय तहका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौ लगिोएको हाे।