Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

कस्तो अवस्थामा छ कोरोना संक्रमण

काठमाडौं : नेपालमा कोरोना संक्रमण भेटिएको पाँच महिनामा साढे ९ हजार संक्रमित भेटिएका छन् । शुरुवातिमा निक्कै सुस्त रुपमा संक्रमित भेटिएकोमा लकडाउनका क्रममा भारतबाट आउनेको सख्या बढेपछि संक्रमित पनि बढेका छन् ।

जेठ ३२ गतेसम्मको संक्रमितको संख्या हेर्ने हो भने अहिलेको अवस्था भन्दा करिव आधा कम देखिएको छ । जेठ ३२ गतेसम्म ५ हजार ७६० जना संक्रमित फेला परेका थिए । यसैगरी मृतकको सख्या पनि १९ रहेको थियो । पछिल्ला आठ दिनमा ३ हजार ८०१ जना थप भएका छन् । संक्रमितको सख्या भने पछिल्लो पटक आक्रमक रुपमा थप हुन थालेका हुन् । पछिल्ला आठ दिनमा दैनिक सरदर ४७५ जना संक्रमित भेटिएका छन् ।

संक्रमित भेटिनेमा सबैभन्दा बढि युवाहरु नै रहेका छन् । ११ देखी ४० वर्ष उमेर समुहका व्यक्तिमा यो संक्रमण बढि पाइएको छ । यो समुह भारतमा रोजगारीमा जाने गरेका कारण त्यहाबाट फर्किदा संक्रमण ल्याएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो समुहमा रहेका व्यक्ति हाल कुल संक्रमित मध्ये ८ हजार ८ जना रहेका छन् । जसमध्ये सबैभन्दा बढि २१ देखी ३० वर्ष उमेर समुहका ३ हजार ६५० जना रहेका छन् । जसमा महिलाको सख्या निक्कै न्युन रहेको छ ।

संक्रमित निको हुने क्रममा पनि विस्तारै बढ्न थालेको छ । सोमबारसम्म २ हजार १४२ जनाले संक्रमणलाई जितेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । सोमबारमात्रै देशभरका विभिन्न अस्पतालबाट ३७० व्यक्तिले कोरोनामाथी जित निकालेका छन् । एकैदिन कोरोना संक्रमणमुक्त भएको अहिलेसम्मकै ठुलो सख्या हो । ३२ महिला र ३३८ पुरुष संक्रमण मुक्त भएको उनले बताए । जसमध्ये १६१ महिला र १ हजार ९६१ पुरुष रहेका छन् अर्थात महिला ८ प्रतिशत र पुरुष ९२ प्रतिशत रहेका छन् ।

सोमबार एकैदिन ५३५ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४६१ पुरुष र ७४ महिलामा संक्रमण देखिएको बताए । नयाँ संक्रमितसँगै संक्रमितको सख्या नौ हजार ५६१ पुगेको छ । तीमध्ये आठ हजार ६६७ पुरुष र ८९४ महिला रहेका छन् । संक्रमित हुने पुरुषको सख्या ९१ प्रतिशत छ । मृत्यु हुनेको सख्या २३ पुगेको छ ।

सात वटा प्रदेश मध्ये प्रदेश–२ र ५ मा सबैभन्दा बढि संक्रमित फेला परेका छन् । सोमवारसम्मको तथ्यांकमा प्रदेश–२ मा ३ हजार १५९ जना र प्रदेश–५ मा २ हजार ६८२ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा कम वागमती प्रदेशमा ३०९ र गण्डकी प्रदेशमा ५९५ संक्रमण भेटिएको छ । त्यस्तै प्रदेश–१ मा ४७०, सुदूरपश्मिमा १ हजार ६७ र कर्णालीमा १ हजार २७९ संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी संक्रमण भएको जिल्ला रौतहट रहेको छ । जहाँ सोमबारसम्म १ हजार १४६ संक्रमित रहेका छन् भने दैलेखमा ७२६, कपिलवस्तुमा ७०५, सर्लाहीमा ६१४, महोत्तरीमा ५२७, बाँकेमा ३४४ र सुर्खेतमा ३०० संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । १३ वटा जिल्लामा दुई सय भन्दा बढि संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २४ जिल्लामा ५१ देखी दुई सयसम्म संक्रमित रहेका छन् । बाँकी ३९ जिल्लामा भने १ देखी ५० जनासम्म संक्रमित भेटिएका छन् ।

हालसम्म रसुवाबाहेक ७६ जिल्लामा संक्रमण देखिएको छ । यसैगरी एक लाख ८१ हजार ३७१ जनामा पिसिआर र दुई लाख ६८ हजार १०३ जनामा आरडिटी परीक्षण गरिएको छ । पछिल्ला २४ घण्टामा पिसिआर छ हजार १९८ र आरडिटी पाँच हजार ९२९ जनामा गरिएको छ । यस्तै ९० हजार ३७० जना क्वारेन्टिन र सात हजार ७८९ जना आइसोलेशनमा रहेका छन् ।

समाचार