किसान–सरकार हातेमालो कार्यक्रमको सार्वजनिक सुनुवाई
दैलेख ः कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अति विपन्न किसान लक्षित गरी अति विपन्न किसानको जीवनस्तर सुधार गर्ने उदेश्यले सञ्चालनमा ल्याएको किसान–सरकार हातेमालो कार्यक्रमको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको आयोजनामा किसान–सरकार हातेमालो कार्यक्रमको सेवा सुविधा तथा प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा गरिएको हो । चामुण्डाविन्द्रासैनी नगरपालिका–६ मा सञ्चालित उक्त कार्यक्रमको शुक्रवार सार्वजनिक सुनुवाई गरिएको हो । लक्षित समूह, सरोकारवाला निकाय, स्थानीय नागरिक, सेवाप्रदायक, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधी, पत्रकार सहितको सहभागीतामा सार्वजनिक सुनुवाई गरिएको हो । सार्वजनिक सुनुवाईमा दुई बुँदे साझा प्रतिबद्धताहरु गरिएको छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेख र चामुण्डाविन्द्रासैनी नगरपालिकाबाट बाख्रा पालन किसानहरुलाई नियमित रुपमा प्राविधिक सहयोग उपलब्ध गराउने, बाख्रा पालन किसानहरुले व्यवसायीक बाख्रा पालनमा जोडिने प्रतिबद्धता जनाए । पत्रकार एवं सुशासन अभियानकर्ता हिक्मतबहादुर नेपालीले सहजिकरण गरेको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिका मेयर सुर्यबहादुर शाहीले नगरपालिका भित्र व्यवसायिक बाख्रा, भैसी तथा कुखुरा पालन व्यवसायबाट विपन्न नागरिकहरुको जीवनस्तरमा सुधार ल्याइने बताए । पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका निमित्त प्रमुख भिमबहादुर विष्टले अति विपन्न किसानको जीवनस्तर सुधार गर्ने उदेश्यले किसान–सरकार हातेमालो कार्यक्रम सञ्चालन भएको बताए ।
उनले किसानहरुलाई व्यवसायीक बाख्रा पालनमा जोडिन आग्रह गरे । किसान–सरकार हातेमालो कार्यक्रमका लागि २५ लाख रुपैयाँ खर्च भएको छ । समुह गठनमा पाँच हजार, स्थलगत तालिममा दश हजार, बाख्राको खोर निर्माणमा तीन लाख ७२ हजार पाँच सय, बाख्रा खरिदमा १७ लाख, बोका खरिदमा ८० हजार, बोका बाख्रा ढुवानीमा ७५ हजार, बोका बाख्राको बीमाका लागि २५ हजार, औषधी खरिदमा १० हजार, घाँउको वीउ बेर्ना वितरणमा २५ हजार, कार्यक्रम सञ्चालनका लागि बैठक तथा अनुगमनका लागि ७० हजार, होडिङ्ग बोर्ड राख्न १२ हजार सार्वजनिक सुनुवाईका लागि १५ हजार र सामाजिक परिचालकका लागि एक लाख रुपैयाँ खर्च भएको बताईएको छ । उक्त कार्यक्रमबाट यहाँका ५१ जना अतिविपन्न परिवार लाभान्वित भएका छन् ।




