Loading... आजः २०८२, ७ बैशाख आईतवार

‘समीक्षाकाे ‘छुटेका सपनाहरु’ मुक्तक संग्रह विमोचन

 सुर्खेत ः  कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले साहित्यले राजनीतिलाई सही बाटोमा हिडाउने बताएका छन् । स्रष्टा देवकी तिमल्सिना ‘समीक्षा’ दोस्रो कृति ‘छुटेका सपनाहरु’ मुक्तक संग्रहको विमोचन गर्दै मन्त्री रावलले यस्तो बताएका हुन् । उनले भने, ‘साहित्यको सिर्जना गर्नका लागि भावना हुनुपर्छ र त्यसलाई साहित्यमा परिणत गरिसकेपछि त्यसले समाज परिवर्तनको काम गर्नुपर्छ ।’

विश्वमा ठूला ठूला परिवर्तनहरु साहित्यको माध्यमबाट भएको प्रसंग उठाउँदै समाजको गोरेटोको रुपमा रहेको साहित्यका माध्यमबाट कर्णालीमा धेरै गर्न बाँकी रहेको मन्त्री रावलले बताए । कुनै समयमा बन्दुकसँग खेल्ने समीक्षा अहिले कलमसँग खेल्दै समाज परिवर्तनको लागि अगाडि बढिरहेकोमा समाजले समीक्षाबाट आशा राखेको उनको भनाई थियो । प्रकाशित मुक्तक संग्रहले सिंगो राष्ट्रको भावना बोलेको मन्त्री रावलले बताए ।

कृतिको समीक्षा गर्दै वाङ्मय चौतारी नेपालका अध्यक्ष गणेशभक्त गौतमले भने, कृतिले समाज, परिवेश, देश काल र परिस्थितिको यथार्थ बोलेको छ ।’ उनले भने, ‘साहित्यमा लाग्नेहरु धेरै हुन्छन् तर त्यसलाई निरन्तरता दिनेहरुको कमी छ तर समीक्षाले जुन निरन्तरता दिनुभएको छ स्रहानिय छ ।’

यसैगरि विमोचन कार्यक्रममा अध्यक्ष एवम् सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठानका अध्यक्ष तथा कर्णाली योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले अधुरा सपनाहरुलाई पूरा गर्ने जिम्मेवारी अहिलेका जनप्रतिनिधिदेखि सचेत वर्गको काँधमा आएको बताए । भावनाबाट विचार आउँछ र विचारलाई व्यहारमा उतारेर साहित्यको सिर्जना हुने भएकोले त्यस्तो विचारले नै समाजलाई प्ररिवर्तनको अग्रदिशामा समेट्ने उनको भनाई थियो । उनले थपे, त्यसैले विचारहरु जोगाउनु पर्छ ।’

मुक्तक संग्रह छुटेका सपनाहरुमा ३०० वटा मुक्तकहरु संग्रहित रहेका छन् भने यसको प्रकाशन सुन्दर सुन्धरा स्मृति प्रतिष्ठान हुम्लाले गरेको हो ।

स्रष्टा देवकी तिमल्सिना ‘समीक्षा’ ले विगतको जनयुद्धले मागेका मागहरु अझैँ पूरा हुन नसकेको बताउँदै नेता र नेतृत्वले जनताका चाहना र भावना अनुसार कार्य गर्नु पर्ने बताइन् । समय र परिस्थिति अनुसार आफूलाई परिवर्तन गर्न सक्नु पर्ने उनको भनाई थियो ।

कर्णाली साहित्य समाजका सचिव सरस्वती पन्तले शब्द स्वागत गरेको कार्यक्रम कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले सहजीकरण गरेका थिए । कार्यक्रममा कर्णाली प्रदेश सचिवालयका सचिव जीवराज बुढाथोकी, उगुना शाही, रमा केसी, बलिराज रोकाया, पदम बहादुर खड्का, दुर्गा काफ्लेलगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।