Loading... आजः २०८१, २३ मंसिर आईतवार

ठाटीकाँधमा निषेधाज्ञा जारी

दैलेख : दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिकामा बुधवार १६ जना कोरोना पुष्टि भएपछि ठाटीकाँध गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । गाउँपालिकाको सदरमुकाम रहेको ठाटीकाँध बजारका खाद्य खुद्रा, कस्मेटिक पसल, फलफुल, तरकारी पसल, होटलका व्यापारी र शिक्षकमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले गाउँपालिकामा निषेधाज्ञा जारी गरेको हो ।

बुधवार ठाटीकाँध गाउँपालिकाको ७३ जनामा गरिएको स्वाब परिक्षण गर्दा २ महिलासहित १६ जनामा कोरोना पुष्टि भएको थियो । विहिबार जिल्ला प्रशासन कार्यालय दैलेखले सुचना जारी गरी ठाटीकाँध गाउँपालिका निषेधाज्ञा जारी गरेको सार्वजनिक गरेको छ । प्रशासन कार्यालय दैलेखले गाउँपालिका चारकिल्ला तोकी पुर्वमा रामघाट खोला, पश्चिममा खामपाटे, उत्तरमा भर्ता लेक र दक्षिणमा स्याउलेकाँध नाका बन्द गरेको जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

समुदायस्तर कोरोना भाइरस फैलिएको भन्दै सर्तकता अपनाउन र संक्रमण फैलिन नदिन सिल गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए । उनले भने, ‘महामारी फैलिन नदिन स्थानीय प्रशासन ऐन २०२८ दफा ६(३) तथा रोग रोक्रमण ऐन २०२० को दफा २ बमोजिम ठाटीकाँध गाउँपालिका सबै नाका बन्द गरिएको हो ।’ निषेधाज्ञा अवधिभर गाउँपालिकामा आवतजावत, भीभाड, भेटघाट, जमघट नगर्नको लागि २०७७ साउन ८ गतेको दिउँसो १२ बजेदेखि अर्को आदेश जारी नहुञ्जेल सम्म बन्द गरिएको हो ।

एकजनाको अवस्था गम्भिर
ठाटीकाँध गाउँपालिकामा बुधवार कोरोना पुष्टि भएका १६ जना कोरोना पोजेटिभमध्ये एकजना अवस्था गम्भिर रहेको ठाटीकाँध गाउँपालिकाले जनाएको छ । कोरोना पुष्टि भएका ठाटीकाँध गाउँपालिका –१ का ६० वर्षीय कृषक पहिलेदेखि अल्सरको विरामी भएको हुँदा अवस्था गम्भिर देखिएको हो । उनको दुईपटक आन्द्रा अप्रेसन भएको हुँदा घाउ पाकेको छ । अवस्था गम्भिर छ । चाँडै नै अन्यत्र लिएर उपचार गराउँदा जोखिम कम हुने प्राथमिक स्वास्थ्य केन्द्रका स्वाथ्यकर्मीले बताउँछन् ।

क्वारेन्टाइन बनाएका विद्यालयमा संक्रमण निर्मलिकरण नगर्दा कोरोना भाईरस शिक्षकमा कोरोना भाइरस पुष्टि भएको स्थानीयबासीको भनाई छ । विद्यालय सञ्चालन गर्नु अघि क्वारेन्टाइनमा सरसफाई, औषधी छर्केर मात्र विद्यालय सञ्चालन गर्नुपर्ने माग रहेको छ । यदि स्थानीय सरकारले क्वारेन्टाइन बनाएका विद्यालयलाई निर्मलीकरण नगरेर विद्यालय सञ्चालन गरे शिक्षा आर्जन गर्ने थलो नै कोरोना मुख्य माध्यम हुने भएकोले स्थानीय सरकारले छिटो निर्मलीकरण व्यवस्था गर्नुपर्ने नामबहादुर शाहीले बताए ।