सञ्चालनमा आउने भयो सिटी बसपार्क

सुर्खेतः कर्णाली प्रदेश भरीको महत्त्वको सिटी बसपार्क सञ्चालनमा आउने भएको छ । निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दा समेत सञ्चालनमा आउन नसकेको बसपार्क वीरेन्द्रनगर नगरपालिका र व्यवसायीबिचको विवाद मिलेपछि बसपार्क सञ्चालनमा आउन लागेको हो ।
आउँदो भदौ एक गतेबाट बसपार्क सञ्चालनमा लिने तयारी भएको वीरेन्द्रनगर नगरपालिकाले जानकारी दिएको छ । ‘व्यवसायी र नगरपालिकाबिच केही विवाद हुँदा उच्च अदालत सम्म मुद्दा पुगेको सिटी बसपार्क भदौ १ गतेबाट सञ्चालन हुने छ । उच्च अदालतको फैसला भई सकेकोले बसपार्क सञ्चालन हुन लागेको हो ।
बसपार्कमा पहिलेदेखि नै व्यवसाय गर्दै आएका ५४ जना व्यवसायीले आफूहरूलाई प्राथमिकता नदिएर पूर्व सहमति विपरीत टेन्डर गरिएको भन्दै रिट दायर गरेका थिए । बसपार्क सञ्चालनका लागि गत मङ्सिर १६ गते नगरपालिकाले टेन्डर आह्वान गरेको थियो । नगरपालिका र व्यवसायीबिच पुरानो बसपार्कमा व्यापार गरिरहेकालाई बसपार्क निर्माणपछि व्यापार–व्यवसाय गर्न दिने सहमति भएको थियो । तर, सहमति कार्यान्वयन नभएपछि उनीहरूले अदालतमा रिट दायर गरेका बुझ्नमा आएको छ ।
उच्च अदालतले प्रतिस्पर्धा गराउने तर पुराना व्यवसायीलाई प्राथमिकता दिनु भनी सुनुवाइ गरेपछि विवाद सुल्झिएको हो । यो सुनुवाइसँगै बसपार्क सञ्चालन गर्न बाटो खुलेको हो । बसपार्कमा ५४ सटर, ग्यारेज, टिकट काउन्टर, शौचालय, पाकिङस्थल निर्माण गरिएको छ । बसपार्क सात करोड ४४ लाख लागतमा निर्माण भएको हो । बसपार्क सञ्चालन गर्ने ठेक्का पीआर कन्स्ट्रक्सनले पाएको छ ।
बसपार्क सञ्चालन गरे पछि कम्पनीले मासिक २७ लाख ५६ हजार एक सय रुपैयाँ नगरपालिकालाई बुझाउनुपर्ने छ ।




