Loading... आजः २०८३, २८ जेष्ठ बिहीबार

दैलेख कोरोना अस्पतालमा चरम लापरबाही

दैलेख ः प्रयोगशालामा गरिने कोरोना भाइरस (कोभिड–१९) पीसीआर परीक्षणका लागि दैलेखमा एम्बुलेन्स चालकले नै स्वाब संकलन गरेका छन् । स्वास्थ्य सेवा कार्यालय दैलेखको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने गरी दैलेख सदरमुकामस्थित झुप्रेसाल नजिकै भगवती मन्दिरको डाँडामा निर्माण गरिएको कोरोना अस्पतालमा रहेका संक्रमितहरुको एम्बुलेन्स चालकले स्वाब संकलन गरेका हुन् ।

आइतबार विहान आइसोलेसनमा उपचाररत तथा कोरोना संक्रमण भई होम आइसोलेसनमा बसेका ४ जना कोरोना संक्रमितको स्वाब एम्बुलेन्स चालकले संकलन गरेका पाईएको हो । कोरोना संक्रमितहरुको दोस्रो पटकको पीसीआर परिक्षण गर्न एम्बुलेन्स चालकले स्वाब संकलन गरेको हुन् ।

स्वास्थ्य सेवा कार्यालय दैलेखद्धारा सञ्चालित एम्बुलेन्स चालक अर्जुन शाहीले कोरोना संक्रमितहरुको स्वाब संकलन गरेको त्यहाँ उपचाररत एक संक्रमितले बताए । ‘तालिम प्राप्त स्वास्थ्यकर्मीबाट स्वाब संकलन गरिनुपर्ने हो, एम्बुलेन्स चालकबाट स्वाब संकलन गरेर चरम लापरबाही भयो,’ आइसोलेसनमा रहेका एक संक्रमितले भने ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीले एम्बुलेन्स चालकले आफुहरुलाई जानकारी नै नदिएर स्वाब संकलन गरेको बताए । ‘त्यहाँ रहनुभएका स्वास्थ्यकर्मीले स्वाब संकलन गर्नुपर्ने हो, त्यो सम्भव नभए हामी स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मी पठाउँथ्यौ,’ रेग्मीले भने ‘आगामी दिनमा यस्तो लापरबाही हुँदैन् ।’ उक्त आइसोलेसनमा अहिले डा. प्रसन्न नेपालको नेतृत्वमा २ जना नर्स, एक जना कार्यालय सहयोगी खटाईएको रेग्मीले बताए ।

यता सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले एम्बुलेन्स चालकले नै स्वाब संकलन गरेको विषयमा ध्यानाकर्षण भएको बताए । ‘आइसोलेसनमा खटिईएका डाक्टर, अन्य स्वास्थ्यकर्मी तथा स्ंयवम एम्बुलेन्स चालकलाई स्पष्टिकरण साधेका छौ, सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले भने ।

समाचार

सम्बन्धित समाचार