लिपुलेक विवादमा चीन पनि संलग्न छ
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतले अतिक्रमण गरिरहेको लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् । नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद अब भारतसँग मात्र छलफल गरेर समाधान नहुने अध्यक्ष दाहालले बताए ।
‘सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो, कालीनदीको सम्पूर्ण पूर्वनेपाल हो पश्चिम भारत हो भन्न्ने कुरा स्पष्ट पार्दै यो समस्या समाधानको निम्ति राजनीतिक कुटनीतिक हल गर्नुपर्छ जे भनेको थियो’, उनले भने ‘लिपुलेक प्रकरणपछि यो त्रिदेशीय जस्तो बन्न गएको छ । यो दुईवटा देशले मात्रै हल गरेर पनि अब अप्ठेरो छ, त्यहाँ चीन पनि संलग्न भएको छ, भारत चीनको सम्झौता सहमति भएको हुनाले ।’ भारत र चीनबीच लिपुलेक हुँदै ब्यापार विस्तार गर्ने विषयमा २०७२ सालमा समझदारी भएको थियो ।
भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि गत वर्ष नै गरिएको सर्वदलीय र सर्वपक्षीय बैठकले राष्ट्रिय सहमतिको वातावरण निर्माण गरेको भन्दै प्रचण्डले त्यो बैठकले प्रधानमन्त्रीलाई ठूलो तागत दिए पनि ठोस रुपमा पहल हुन नसकेको बताए । सीमा मिचिएको विषयमा नेपालले भारतलाई हालै पत्र पठाउनु उचित भन्दै उनले पत्रले मात्र नपुग्ने धारणा राखे । अध्यक्ष दाहालले सीमा विवादको विषय अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लैजाने विषयमा भने एकपटक सोच्नुपर्ने बताए ।









