समृद्धिको बाहानामा अडिएको सत्ता

छोटो अर्थमा हरेक पक्षको विकास नै समृद्धि हो भने अभिनयको अर्थ बाहाना र उद्देश्य प्राप्तिको सर्ब शक्ति नै सत्ता हो । यहि अर्थको धारमा टेकेर हिजो देखि आजसम्म नेपाली सत्ताको पुरानो धेरै पुस्ता देश बनाउने मुल मन्त्र घोक्दै आयो तर चाउरी परेको मुलुकको अनुहारमा कहिल्यै समृद्धि आएन । मुलुकको अनुहारमा क्रान्ति र जनताको मनमा शान्ति ल्याउने निकै छोटा विधिहरु छन् ।
परिवर्तन ल्याउने ती बिधि सत्ताका पात्रहरुले बारम्बार देख्छन । जानकार पनि छन् तर चाहदैनन् यदि अब देश बनाउने र विकासको होलीले राज्य रङ्गयाउने हो भने बाहानाको छाँयामुनि सत्ता राख्ने पार्टी नामका वैधानिक भ्रष्ट संस्थाहरुको सुद्दिकरण र सुदृढीकरण नितान्त आवश्यक छ । विभिन्न कालखण्डको अध्यायमा जनताको भैंसी लुटेर पाडो फिर्ता दिनेहरुले इमान्दारीताको गुन गाउदै लाजमर्दो सत्ताको ताज पहिरिरहे । अब त्यो ताज बेचेर किसानको बारिलाई मल, श्रमिकहरुलाई उचित ज्याला र निमुखाहरुलाई समृद्धिको मुलधारमा ल्याउन खर्चिनु पर्छ ।
नेपाली माटोलाई सक्कलि सत्ता र साहास चाहिएको छ । यसरी व्याख्या गरिरहँदा कहाँ र कसरी भन्ने प्रश्न पनि स्वभाविक हुन्छ । अतः मेचीमहाकालीको साँघुरो भुगोलमा पञ्चबर्षिय अवधि भित्र बारीको कान्लाहरुमा सुन फलाउन सकिन्छ । आगनको माटोलाई मोतीको मुल्यमा किनबेच गर्न सकिन्छ । हरेक ढुङ्गाहरुमा मुर्तिका बुट्टा कुदेर विश्वलाई उपहार दिन सकिन्छ । बेलुनमा हावा भरेर मोल गर्न सकिन्छ । अनवरत बगिरहने घरछेउका मुहानहरुलाई रगतको मुल्यमा प्रत्येक रक्त नलिमा कुदाउन सकिन्छ । सगरमाथाका छात्तिजस्ता पाखा र चट्टानहरुलाई भित्ता बानाएर विज्ञान सिकाउने अमेरिकन र युरोपेलीलाई समृद्दिको कोचिङ दिन सकिन्छ ।
असम्भव के छ ? कोशी, गण्डकी र कणार्लीको मुल प्रबाहमा इतिहासका ग्रन्थमा लिपिबद्द मेसोपोटामिया, नायल , ब्रहमपुत्र र गङ्गोत्रिको सयर दिलाउन सकिन्छ । एकसानो देशमा संसारमै अग्ला बस्ति छार्काभोट र ताराप गाउँ (डोल्पा) लाई भाडामा दिएर विश्वका बिद्वानहरुबाट महँगो शुल्क असुल्न सकिन्छ । मुगुमा रारा खोज्न अमेजन र सुपेरियर बिर्सेर अमेरिकन, नायलबिर्सेर अफ्रिकनहरु डेन्ब्युका किनारहरु बिर्सेर युरोपेलीहरु देशका सुनकोशी, ईन्द्रावती, मादि, दरौदी, भेरी, तिला, फेवा, रुपा, बेगनास, गजेडी र बुलबुले घुमाउन र प्रकृतिको प्यास मेटाउन सकिन्छ । तर त्यसका लागि नेपालीले एउटा पक्ष गुमाउनु पर्छ । त्यो पक्ष हो, समृद्धिको बहानामा रङ्गिएको नेपाली सत्ताको निरन्तरता । जहाँ नाटककारहरुले देशलाई मैदान बनाएर सयौं बर्ष देखि इन्द्रजाल बुनिरहे र विभिन्न अध्याय पुरा गर्दै आलोपालो भुमिकामा देखिरहे तिनै पात्र कहिले मैदानको छेउमा दर्शक बनेर नाटक गरिरहे त कहिले सत्ताको मञ्चमा उभियर जँगअजँ बनिरहे ।
विगतको त्यति हिसाब नगरौ बिस २००४ हुँदै २०१५, क्रमश १९, ३६, २०४६, २०४७, ६२, ६३, २०७०, ७२ हुँदै आजसम्म सत्ताबाहिर तथा सत्ताको मञ्चमा तमासा देखाईरहे । साँचो देश बनाउनेहरु विदेशमा रगत बेचेर स्वदेशमा गुजरा पठाउँछन् । हिमालमा चौरी र तराईमा ठेला धकेल्नेहरु पहाडमा चट्टान कोरेर अन्न फलाउँछन । तिनै देश निर्माताहरुको पसिनामा बाहानाका समृद्दि वालाहरुको दैनिकी पोतिएको हुन्छ । यसो भनिरहँदा पुर्खा र पल पलको गर्भिलो ईतिहासलाई भने यो दोष नलागोस । ननलागोस पनि अपबादमा पुराना कतिपय स्वच्छ आत्महरु छन्, होलान पनि । उहाँहरुप्रती मेरो गहिरो साहानुभुति हृदयमा नमेटिने गरि बास बसेको छ । मैले यहाँ भनेको चौरी चराउने, ठेला धकेल्ने पहाडमा चट्टान कोरेर अन्न फलाउने र विदेशमा रगतका पसिना बेचेर गुजारा पठाउनहरु सत्ता पुग्नु त के नाम पनि सुन्न पाएनन् र सुन्न पनि दिईएन । तर, पनि विभेधकारी नेपाली सत्ता उनकै ढाडमा अड्डिरह्यो । तिनै नागरिकहरु शोषित भएर देश बनाई रहे ।
उता नाटक गर्नेहरु शासक भएर नउभिने गरि देश कुल्चिरहे । अब यो कुहिरो भित्रको नक्कलि सत्तालाई कसरी न्यायिक ठान्ने ? समृद्धि र सत्ताको नाटकमा देश चुसिरहने बैरीहरुलाई कहिलेसम्म देवत्वको उपमा दिने ? अब मुलुक र सत्तालाई विज्ञानमुखि बनाउन केहि चोच्न सत्ताबाहिर देश बनाउनेहरुलाई सचेत राख्नु पर्छ । देशका टुक्राहरु बेचेर बिदेशीहरुसंग दलाली गर्नेहरुलाई पहाडमा सुन्तला रोप्न र हिमालमा स्याउ कुर्न लगाउनु पर्छ । यहाँ हतियार लिए नक्कली राष्ट्रवाद जन्माउनेहरुबाट सचेत हुँदै प्रयोग र परिमाणको नतिजा प्रदर्शन गर्नु पर्छ । बुझनु पर्ने कुरा फटाहाहरुको अचानोमा देश राखेर सत्ताले रेटिरहेको छ देशका चित्कार नसहनेहरुले अब कानका रुई फाल्नुपर्छ । मेची, माहाकाली लिपुलेक कुटि, नाभी र गुञ्जिसम्मका खोच खोचमा देशबोकेर उकाली ओराली धाउनेहरुबाट चलिरहेको सत्तालाई बैधानिक बनाउनु पर्छ ।
समृद्धिको बहानामा रङ्गियको नेपालि सत्ता र यसका लगामेहरुलाई ठेगान लगाउन अब एउटा उपाय छ । दर्शन छाटेर सत्ता चलाउनेहरुलाई सानातिना उद्यमहरुमा दिनरातको डिउटी दिनुपर्छ । बारीमा हलो जोताउनु पर्छ ग्यारेजहरुमा पुर्जा र ल्याबहरुको परिक्षणमा राख्नु पर्छ । चट्टानहरुमा बाटो खनाउनु पर्छ । उदाङ्गा डाँडाहरुमा बिरुवा रोपेर रेखदेख गर्न लगाउनु पर्छ । भौतिक र बैज्ञानिक क्षेत्रमा दिनभर झुलाउनु पर्छ ।
पहाडका बस्तिहरुबाट हिमालका जडिबुटी र तराईको अन्न अमेरिका र युरोपमा निर्यात गरेर दिनभर हिसाब राख्न लगाउनु पर्छ । यदि कोही देश बनाउँछ भने आफ्नै देशको अन्न र गोरस खाएर पहाडको बस्तिबाट हिमाल र तराईका सिमाहरु जोगाउनु पर्छ । यो पनि थाहा छ । दिनभर सडकमा दर्शन बाड्ने र साँझ श्रीमती कुट्नेहरुबाट देश बनेको होईन ।
तर उल्टै उनिहरु जहिले पनि देश बनाएको दाबी गर्छन । सामाजिक संस्कार अन्तरसम्बन्धहरु बिर्सेर समाज बदल्नेहरुबाट देश भत्किरहेको छ । आँखामा डुब्लिकेट काँच राखेर राष्ट्रिय पशुको सुकुटी खाने, गरिबलाई धम्क्यायर माहाजनको पुजन गर्नेहरुबाट देश बनेको होईन भन्ने जानकार हुँदा हुँदै पनि हामी उनकै अन्धभक्त भयर समय धकेल्यौ भने भत्किएको देश बनाउन धेरै ठुलो मूल्य चुकाउनु पर्छ । हो यसरी फुर्सदमा बरालिनेहरु देश भत्काईहेका छन् भने जोगाउन परिश्रमी र उधमिहरुले सोच्नै पर्ने हो ।
के वर्ग भेद नै नक्कली सत्ताको जग थियो त ?
एकै समाजमा जन्मे हुर्केका उहि माटोमा पालिएका एउटै भाषाबाट भावाना र सँस्कृतिबाट जिउन सिकेका एकै समाजका जिवन्त समुहहरुका बिचमा जन्माईएको वर्गीय भेद नै नक्किल सत्ताको जग हो । यो बिषयमा समाज विकासका अध्यता दार्शनिक कार्लमाक्सको विष्लेषण धेरै हदसम्म मिल्दोजुल्दो देखिन्छ । जसमा मानव जातिको बिकास संगै खेतिपातिको युगले श्रमको आवश्यकता महसुस गरायो । बलिया र टाठाबाठाहरुले आफुभित्रकै निर्धा र कम्जोर पक्षलाई कमारा कुमारी बनाएर जोताउन भारी बोकाउन थाले । जसबाट दासप्रथाको जन्म भयो यो नै नक्कली सत्ता सुरुवाती रुप थियो । नेपाली समाजमा पनि यो पर्थाले बि.स.१९८१ चन्द्र समशेरको पालासम्म बैधानिक रुपमै राज गर्यो तर यसको बिश्वब्यपी प्रयोग भने फरक थियो । जहाँ युद्धबन्दीहरुलाई मृत्यु दण्डको सट्टा काम गराउनका निम्ति जिवित राख्ने गरिन्थ्यो तर नेपालमा भने यसको प्रयोग गलत रह्यो ।
हामी कहाँ सोझा र निर्धाको आधारमा अर्थात जो दिनरात देश बनाउछन् उनलाई दासी बनाईयो । दासी घोषित गरियो । त्यसकै निरन्तरता र अस्सली रुप हो अहिलेको नक्कली सत्ता । जुन कम्जोर वर्गका लागि पुख्र्यौली उपाधी घोषित भयो । जसको अविछिन्न प्रभाव अहिलेपनि हरेक समाजमा भेट्न सकिन्छ । यो उत्पादनको विकासमा सहायक थियो तर मालिकहरुको कावुमा थियो जुन आज पनि अपहरित अवस्थामा छ । विगतमा धेरै समय बैध रहेको दास प्रथा अहिले सबै मुमुकमा गैरकानुनी छ । जुन क्रममा मौरिटानिया अन्तिम देश मानियो तर पुरानो रुप फेरेर नयाँ रुपधारणा गरेको जग जाहेर नै छ ।
अन्तराष्ट्रिय तथ्यांक अनुसार विश्वका ४.३ प्रतिशत मानिसहरु अझै दासी रहेको तथ्यांक छ । यसको जिवन्त उदाहरण नेपाली समाजको छुवाछूत, कमैया प्रथा कम्लरी, दाईजो फल स्वरुप यौन दासत्व र घरेलु कामदारका रुपमा बाल शोषण र जबरजस्ती विवाहको रुपमा बालबालिका दासी बनाउने अर्थात मान्छेले मान्छे बेचेर खाने पद्धति नै नक्कली देशभक्तहरु र बाहानाका सत्ताधारिहरुको नक्कली सत्ताको जग थियो ।
खास भुल कहाँ नेर हो त ?
सक्कली देश बनाउनेहरुले आफ्नै श्रमको मुल्य बिर्सेर सुकिलो पोषाकमा दर्शनका हाँक दिनेहरुलाई ठालु मान्यौ । आफ्नै कामलाई हेला ग¥यौ । यहिबाट हाम्रो संरचना कमजोर भयो । यहि भुलमा टेकेर देश भत्काउन खोज्नेहरु सत्तामा सफल भए । ब्यक्ति केन्द्रित भय र देशको दाईजो लिएर विदेशमा (भारतमा) पोईल जान दाउ कुर्न थाले हामिले उहाँरुको चरित्र बुझेनौ हाम्रो भुलभनेकै यहि नेर हो ?
अबको बिकल्प के त ?
कामलाई सत्ता र कामदारलाई शासक बनाउनु पर्छ । फुर्सदका चाकडी वालहरुलाई सुत्ने र सौच बाहेकको अरु सबै समय मेहनतमा खर्चिन लाउनु पर्छ । कामबाट फुर्सद नपाउनेहरुबाट समय मागेर स्कुलिङ दिन लगाउनु पर्छ । हातमुख जोड्ने बास बस्ने, इलाज गर्ने, लेख पढ्ने जत्ति चिन्ता सत्तालाई र निरन्तर देश बनाउने चिन्ता कार्यस्थलका शाधुहरुलाई हुनुपर्छ । युवा पंतिलाई हरेक काममा समान ज्याला तोक्नु पर्छ । जवानहरुको दिमागबाट चिन्ताको घर भत्काउनु पर्छ । अल्कोहल पिएर भान्सा र सौच दुर्गन्धित बनाउनेलाई सुन्तला र कागतीको जुस बनाएर बेच्न लगाउनु पर्छ । कोठा थुनेर जुवा खेल्नेहरुलाई गाई भैसीको किर्ना (गाई भैसिमा लाग्ने एकप्रकारको बिषालु किरा) र गोबर सफा गर्न लगाउनु पर्छ । फलाममा चादिँको जलप लगाएर काठमाडौं कुल्चनेहरुलाई प्रतिबन्ध लगाउनु पर्छ । राष्ट्रिय झण्डा जलाउने र देश टुक्राउनेहरुलाई भैसीको दूध बेच्न लगाउनु पर्छ । ठेगान लगाउने बिकल्प यहि हो ।
समृद्दि कहाँ छ अनि देश बनाउनेहरुले के बुझ्नुपर्छ ?
बर्षाैदेखि उम्रिन नसकेको बाँझो जमिन र चार कोशे झाडीमा छ । भिरपाखाहरुमा बगिरहने छाङ्गाहरु र मुलुकका युवाहरुको पाखुरी र निरन्तर पसिना बेच्नेहरुसंग छ । अमिलोका बिरुवा, यार्सागुम्बा र निमको पातमा छ । हिउँले ढाकिएका हिमशिखर र भिरमा पग्लिएको सिलाजितमा छ । डाँकाहरुबाट सत्ता छुटायर बाख्रा पाठा र कुखुराको गाोठालो बनाउनुमा छ । अतः आयातित र पुराना सिद्दान्त घोकेर देश बन्दैन ।
देश बनाउन पैतला मुनीको माटो र दौडिरहने घडिको सुई दिन दुखिहरुको चीत्कार चिन्नु घोक्नु र देख्नु पर्छ । हो, समृद्धिको मुल ढोका त्यहिनेर छ । यहाँ सत्ता चलाउने सत्ता खोज्ने र देशलाई दाउमा राखेर जुवा खेल्नेहरुले सत्ता चलाई रहेका छन् । देश बेचेर जनताई ऐलानी बनाईरहेका छन् तर यसरी समृद्धिको बहानामा रङ्गियको नेपाली सत्ता हामीले दिउँसै आँखा चिम्लेर भोगिरहने यो नेपाली समाज र राज्य सत्ताको वास्तविकता हो ।
अपबाद बाहेक हिजोका सम्भ्रान्त वर्गहरु वर्गिय रुपमा उच्चकोटीमा रहे र क्रमश उहीँ दर्जामा रहेर देशनै आफ्नो पुख्यौली सम्पति हो भन्ने मानसिकता पालेर बसे । जो केही नगर्दा पनि चल्नेछ भन्ने मानसिकता बोकेका छन् र गरिब निर्धाहरुलाई धर्ती अर्थात देश बिहिन हुन भन्ने गलत मनोविज्ञानले आफु नै सत्ताका हिमायति ठहरिन्छन । यो भ्रमपुर्ण मनोविज्ञानले पनि नेपाली सत्ता बाहानामा टिकेको छ । हिलो धुलो माटो र मैलोसंग जुधेर देश बनाउनेहरु दासी र रवाफ दियर कपोकल्पित दर्शन बाड्नेहरु सत्तासिन भए । यसरी अन्यायपूर्ण जगमा नेपाली सत्ता बिकास भएको छ । श्रम गर्ने वर्ग सधै गरिबीको रेखामुनि राखेर मुलुकको अर्थतन्त्र र उत्पादनमा ठुलो क्षति पु¥यायको छ । कामचोर ठेक्कापट्टामा बाँच्नेहरुले जन्माएको मानसिकता बदल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामको दायरालाई फराकिलो बनाईनुपर्छ । पुरस्कृत गरेर मनोबल बढाउनु पर्छ । कारागारमा कैदीहरुलाई भात मासु खुवायर होइन विकास निर्माणका काम गर्न जमिनमा उतार्नुपर्छ ।
असल कामका लागि उनिहरुको श्रम खर्चिनु पर्छ । ताकि शक्ति खेर नजाओस् । विकासमा ईट्टा थप्नुपर्छ । न्याय प्राप्तिका लागी हुने घुसखोरी अत्त्य गरिनुपर्छ । यो भिजन अहिलेका पात्रलाई अपाच्य छ । त्यसैले पो समृद्धिको बहानामा नेपाली सत्ता रङ्गियको छ । अन्त्यमा बाहानाले देश बन्दैन् ठेगान लाउन यो हर्कत दिनरात देश बनाउनेहरुले बुझ्नुपर्छ ।
यो लेखकका व्यक्तिगत विचार हुन् ।




