डा. केसी भन्छन् : भोट माग्न होइन सेवा गर्न आएको हुँ
जुम्ला ः चिकित्सा शिक्षाको सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसीले कर्णाली र सुदूरपश्चिममा आफू भोट माग्न नभई गरिब, दु:खी जनताको उपचार गर्न आएको बताएका छन्। कर्णालीका केही ठाउँमा उपचार गर्न अवरोध गरेपछि उनले यस्तो बताएका हुन्।
केही साता अघि डोल्पाको जगदुल्ला र जुम्लाको गुठीचौर गाउँपालिकामा डा. केसीलाई माथिको आदेश भन्दै उपचार गर्न रोक लगाइएको थियो। करिब ६ महिना अघिबाट केसीले सुदूरपश्चिमका सात र कर्णालीका मुगु, कालीकोट र हुम्लाका जनताको स्वास्थ्य जाँच गरिरहेका छन् भने कर्णालीको जुम्ला र डोल्पामा माथिको आदेश भन्दै अवरोध भएको थियो। यतिबेला कोरोना महामारीको समयमा जनता उपचार गर्नबाट वञ्चित भएको भन्दै उनले नागरिकसँग भने, ‘त्यस्ता बिरामीको उपचारका लागि म कर्णाली र सुदूरपश्चिमको यात्रामा निस्किएको हुँ।’ सुदूरपश्चिममा उपचार गर्दा सहज हुने र कर्णालीमा माथिको आदेश आउनु पर्ने कारण खोजी रहेको उनको भनाई छ।
स्वास्थ्य र शिक्षा निःशुल्क र गुणस्तरीय हुनुपर्ने उनले बताए। तर सरकारले व्यावसायिक बनाउँदा जनता यस्तो महामारीमा रोगसँग लडिरहेको उनको भनाइ छ। ‘यतिबेला जताततै निषेधाज्ञा, बन्दाबन्दी (लकडाउन) छ,’ उनले भने, ‘यस्तो बेलामा विपन्न वर्ग गाडी रिजर्भ गरेर अस्पतालसम्म जान पाउँदैनन्। गाडी लिएर जाऊ भने महँगो पर्छ, नजाऊ भने ज्यान जुम्छ।’ यस्तो समस्यामा जनता पिल्सिए पनि सरकार भ्रष्टाचारमा लिप्त भएको उनले जनाए।
जनताले उपचार नपाइरहेको अवस्थामा पनि सरकारले उपचार गर्न नदिनु दम्भ भएको उनको धारणा छ। ‘म यहाँ भोट माग्न, भाषण गर्न आएको थिइन,’ उनले भने, ‘जसलाई भोट होलेर जिताएका छन् उनकै जनतालाई सेवा गर्न आएको हुँ। यसमा आत्तिनुपर्ने अवस्था छैन।’ तर आफूलाई भोट माग्न आएजस्तो गरी स्थानीय सरकार र प्रशासनले उपचार गर्न अवरोध गरेको उनको भनाई छ। ‘म कुनै राजनीतिक आस्था बोकेर आएको छैन, बोक्दिन पनि,’ उनले भने, ‘कुन क्षेत्रका नागरिकको स्वास्थ्यमा सहज पहुँच छैन त्यस्तो क्षेत्रमा जान्छु र उपचार गर्छु।’
सामान्य नागरिक ज्यालादारी गरेर खाने मान्छेलाई यस्तो महामारीमा उपचार गर्न समस्या भएको उनले बताए। जसले गर्दा उनीहरू रोग पालेर बस्न बाध्य भएको डा. केसी बताउँछन्। दूरदराजका नागरिकको राज्यले राम्रोसँग उपचार नगरेको भए आफू यसरी हिँड्न नपर्ने उनले जनाए। सहजै उपचार पाउने नागरिकको अधिकार हनन भएको भन्दै डा. केसीले भने, ‘जनतालाई दम्भ देखाउन पाइँदैन।
त्यस्तो दम्भ कार्यकर्तालाई देखाउने हो।’ आफूले नागरिकको उपचारसँगै विश्वभरि फैलिएको कोरोनाको बारेमा पनि जानकारी गराएको उनले बताए। ‘अहिले गाउँमा कोरोनाको ठूलो त्रास छ,’ उनी भन्छन्, ‘त्रास होइन, सचेतना हुनुपर्छ।’ सरकारले उपचार मात्र होइन कोरोना सम्बन्धी सचेतना फैलाउनसमेत अवरोध गरेको उनको भनाई छ। स्वयम् सेवाका लागि आएका डा. केसीलाई अवरोध गर्नु राज्यको गैरजिम्मेवार भएको भन्दै स्थानीय पनि असन्तुष्ट भएका छन्। (नागरीक बाट )




