मानव एक यौनिक प्राणी
सामाजिक परिवेशमा यौनका कुरा श्लील ढंगमा प्रस्तुत गरिए पनि त्यसलाई अपाच्य, अमर्यादित र असभ्य भनी टीकाटिप्पणी गरिन्छ। यसो हुनुको पछाडि सामाजिक रूपमा यौनलाई अझै पनि अश्लीलतासँग जोडेर हेरिनु, गालीगलौज गर्दा यौनसँग सम्बन्धित झर्रा शब्दावलीको व्यापक प्रयोग हुनु, यौनलाई फोहोर, नराम्रो र अनुशासनहप्न व्यवहारका रूपमा चित्रित गरिनु आदि हुन सक्छन्। अझ अविवाहित, अपाड्डता भएका, यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिले यौनका कुरा श्लील ढंगबाट सामाज वा परिवारमा प्रयोग गरे वा उच्चारण गरे उसको चरित्रलाई अपव्याख्या गर्न सुरु गरिन्छ।
यो एउटा प्रतिनिधि घटनाबारेमा चर्चा गरौं। बाटोको अर्को किनारातिर जान खोजिरहेका एक दृष्टिविहीन युवालाई एकजना वटुवाले बाटोपारि जान मद्दत गर्दै सोध्छन्, ‘कतासम्म जान खोज्नुभएको, के म सहयोग गरौं ? ’ दृष्टिविहीन युवाले ‘हुन्छ धन्यवाद, म फार्मेसीसम्म जान लागेको’ भन्दै स्वीकृति दिन्छन्। फार्मेसीमा बिक्रेताले दृष्टिविहीन युवालाई के सेवा गरौं भनेर सोध्छन्। दृष्टिविहीन युवाले ‘मलाई एक पाकेट कन्डम दिनुहोस’ भन्छन्। भर्खरै फार्मेसीसम्म पुर्याउन सहयोग गर्ने बटुवाले अचम्म मान्दै ‘आबुई यस्तो मान्छेले पनि त्यस्तो काम गर्छन् र ? ’ भन्दै रिसाउ“दै दृष्टिविहीन युवालाई गाली गर्दै हिँड्छन्। यौनिकताका सवालमा अपाड्डता भएका व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोणबारे यो एउटा प्रतिनिधि घटना हुन सक्छ।
शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र तथा सरोकारवाला निकायहरूले जिम्मेवार यौन सचेतना भएको पुस्ता तयार पार्न विद्यालयभित्र र बाहिर रहेका विद्यार्थीलक्षित बृहत् यौनिकता शिक्षाको सघन पाठ्यक्रम तयार गरी लागू गर्न ढिलाइ गर्नु हुँदैन।
मानव यौनिकता मानिस हुनुको केन्द्र भागमा पर्छ। मानव यौनिकताभित्र यौन स्वास्थ्य, प्रजनन स्वास्थ्य, यौनिक अभिमुखीकरण, महिनावारी, प्रजनन, स्वास्थ्य सम्बन्ध, शारीरिक एकीकृतपना, लैंगिक पहिचान, शारीरिक बनावटका साथै असंख्य अन्य पक्षहरूको सम्मि श्रण, अनुभव, अनुभूति तथा अभिव्यक्ति हुने गर्छन्। हरेक व्यक्तिका अ–आफ्नो यौनिकता हुन सक्छ किनकि हरेक व्यक्तिले फरक किसिमको सामाजिक, आर्थिक तथा राजनीतिक वातावरण, विविधतायुक्त बहुलवाद समाज, रीतिरिवाज, परम्परा, व्यक्तिगत स्वास्थ्यस्थिति तथा धार्मिक संस्कारबीच हुर्किएको हुन्छ। त्यसैले यौनको सवालमा हरेक व्यक्तिका आआफ्नै अवधारणा विकास भएको हुन्छ। कसैले यौनलाई विज्ञान, अनुशासन र स्वास्थ्यको केन्द्र भागमा राखेर हेर्छन् भने कसैले यौनलाई संकुचित, गोप्य र छाडावादसँग जोडेर व्याख्या गर्छन्।
युवावस्था वा किशोरावस्थामा प्रवेश गरेसँगै उनीहरूमा यौन जिज्ञासा, कूतुहलता र यस विषयमा थप जानकारी लिन खोज्ने अभिरुचि बढेर जन्छ त्यसैले उनीहरूलाई आफ्नो जीवनलाई स्वस्थ र सुखमय बनाउने सीप हासिल गर्न तथा मूल्यमान्यता विकास गर्न यौनिकतासम्बन्धी सही ज्ञान प्राप्त गर्न आवश्यक छ। त्यसैले सानै उमेरदेखि बालबालिकालाई उनीहरूका अभिभावक तथा परिवारले यौनका विषयमा सही सूचना तथा जानकारी दिनुपर्छ। तर नेपाली परिवारमा बालबालिका, युवा तथा किशोरकिशोरीले यौनसम्बन्धी सूचना पाउ“दैनन्। त्यसैले उनीहरूको सूचनाका स्रोत प्रायः साथीसंगी, इन्टरनेट, रेडियो, सामाजिक सञ्जाल, टेलिभिजन र पत्रपत्रिका हुने गर्छन्। तर ती सूचनाका स्रोतहरू आधिकारिक, विश्वासिलो र भरपर्दो नहुन पनि सक्छन्। गलत सूचनालाई सही सम्झिएर व्यवहारमा अपनाए त्यसले विभिन्न शारीरिक तथा मानसिक जोखिम तथा समस्या निम्त्याउन सक्छ। त्यसैले औपचारिक विद्यालय शिक्षा तथा अनौपचरिक शिक्षामा युवा तथा किशोरकिशोरीलाई यौन शिक्षा प्रदान गर्न प्रमुख भूमिका खेल्नुपर्छ। विद्यालयको पाठ्यक्रममा आधारित यौन शिक्षालाई नै बृहत् यौनिकता शिक्षा भनिन्छ।
युनेस्को २०१८ ले बृहत् यौनिकता शिक्षालाई परिभाषित गरेअनुसार त्यस्तो शिक्षा जसले युवा, किशोरकिशोरी तथा बालबालिकाका ज्ञान, सीप, मूल्य र धारणामा अभिवृद्धि गरेर उनीहरूलाई आफ्नो स्वास्थ्य, वृत्ति विकास र स्वाभिमान अनुभूति गराउन, सम्मानपूर्ण सामाजिक र यौन सम्बन्ध विकास गर्न, व्यक्तिगत छनोटले आफ्नो तथा अरूका प्रगतिलाई कसरी प्रभाव पार्छ भन्ने कुरा स्विकार्न र जीवनभरका लागि आफ्नो अधिकार सुरक्षाबारे बुझ्न र सुनिश्चित गर्न सक्षम बनाउ“छ। त्यसैले बृहत् यौनिकता शिक्षालाई संकुचित अवधारणामा मात्र परिभाषित गरिनु हुँदैन। यो शिक्षालाई मानव यौनिकताको मनोवैज्ञानिक, संवेगात्मक, शारीरिक र सामाजिक पक्षलाई समेटेर सानो उमेरका बालबालिकादेखि युवा उमेरका विद्यार्थीलाई लक्षित गरेर पाठ्यक्रम तयार पारी अध्ययन–अध्यापन गरउनुपर्छ।
युवा, बालबालिका तथा किशोरकिशोरीको सर्वांगीण विकास तथा सशक्तीकरणका लागि बृहत् यौनिकता शिक्षा अनिवार्य आवश्यकता हुन सक्ने भनी विभिन्न समयमा गरिएका धेरै अध्ययनले प्रमाणित गरेका छन्।
युनेस्कोद्वारा सन् २०१६ मा बृहत् यौनिकता शिक्षाबारेमा गरिएको एक समीक्षात्मक अध्ययनले देखाएअनुसार विद्यालय तहमा बृहत् यौनिकता शिक्षा पाएका युवा तथा किशोरकिशोरीको पहिलो यौन सम्पर्कको उमेर ढिलो सुरु भएको, यौन साथीहरूको संख्या घटेको, जोखिमयुक्त व्यवहार अपनाउने क्रम घटेको र कण्डम तथा परिवार नियोजनका साधन प्रयोगमा वृद्धि भएको देखाएको छ। यसका अलावा बृहत् यौनिकता शिक्षा प्राप्त गरेका युवा तथा किशोरकिशोरीको स्वास्थ्यमा सकारात्मक परिणाम देखा परेका छन् भने लैड्डिक असमानता घटाउन सघाएको, महिला तथा किशोरीविरुद्ध हुने हिंसाका घटना दरमा कमी आएको र उनीहरूमा आफ्ना अधिकार र नागरिक हक दाबी गर्ने क्षमतामा पनि वृद्धि भएको पाइएको छ। समाजमा व्याप्त लैड्डिक असमानता, विभेदकारी पितृसत्तात्मक अवधारणा तथा अभ्यास क्रमशः घट्दै गएको निष्कर्ष निकालेको छ।
बृहत् यौनिकता शिक्षा केवल यौन स्वास्थ्यको ज्ञानका विषयमा मात्र सीमित छैन। यो शिक्षाले विद्यार्थीमाझ असुरक्षित यौन ब्यवहारबाट उत्पन्न हुने सम्भावित नकारात्मक परिणामलाई कम गर्न, जीवनोपयोगी सीपहरू जस्तै सञ्चार, संवाद, दृढता, पक्षपातविरुद्ध चुनौती दिन सक्ने र निर्णय गर्न सक्ने सीप विकास गराउ“छ। यौन क्रियालाई सन्तान प्राप्त गर्ने प्रक्रियाका रूपमा मात्र नसिकाई, आनन्द, विश्वास, दिगो सम्बन्ध, यौन हिंसा, निर्णय, आकर्षणलगायत विभिन्न मनोवैज्ञानिक पक्ष समेटी युवा तथा किशोरकिशोरीलाई आफू अनुकूल यौन जीवन जिउन उत्प्रेरित गर्छ।
नेपालमा विद्यालय स्तरमा बृहत् यौनिकता शिक्षाको पाठ्यक्रम तयार गरी लागू गरिएको करिब १७ वर्ष पुगेको छ। पहिलोपटक सन् २००३ मा कक्षा ९ र १० को अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा विषयअन्तर्गत बृहत् यौनिकता शिक्षाको पाठ्यक्रम तयार गरी लागू गरिएको थियो। कक्षा ६, ७ र ८ मा करिब एक दशकपछि सन् २०१३ मा पाठ्यक्रम परिमार्जित गरी बृहत् यौनिकता शिक्षाको पठनपाठन सुरु गरियो। वर्तमान शिक्षा प्रणालीमा बृहत् यौनिकता शिक्षाको पाठ्यक्रमलाई एकल विषयका रूपमा लागू गरिएको छैन। विभिन्न विषय जस्तै– विज्ञान, सामाजिक शिक्षा, स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र नैतिक शिक्षामा बृहत् यौनिकता शिक्षाको पाठ्यक्रमलाई विषयअनुकूल पाठ बनाई समावेश गरिएको छ।
नेपालको औपचारिक शिक्षा प्रणालीमा बृहत् यौनिकता शिक्षाको पठनपाठन् हुनु आफैंमा उल्लेखनीय उपलब्धि मान्न सकिन्छ। तर अझै पनि बृहत् यौनिकता शिक्षाको विद्यालय पाठ्यक्रम बृहत् र उमेरसुहाउँदो हुन सकेको छैन। हाल सरोकारवालाहरू बृहत् यौनिकता शिक्षाको पाठ्यक्रम विद्यार्थीलाई आवश्यक छ कि छैन ? लागू गरिनु जरुरी छ कि छैन ? छ भने केकस्ता सवाल समेटिनुपर्छ आदि विषयमा केन्द्रित भई छलफल गरिरहेका छन्। तर फेरि अन्य सरोकारवाला यो विषयलाई समेटिनु हुन्न भन्ने दृष्टिकोणका साथ अगाडि आएका छन्। वास्तवमा देशको ४० प्रतिशत युवा जनसंख्या भएको मुलुकले बृहत् यौनिकता शिक्षालाई अझ परिष्कृत, व्यापक बनाई लागू गर्नुको विकल्प छैन।
त्यसैले शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र तथा सरोकारवाला निकायहरूले जिम्मेवार यौन सचेतना भएको पुस्ता तयार पार्न विद्यालयभित्र र बाहिर रहेका विद्यार्थीलक्षित बृहत् यौनिकता शिक्षाको सघन पाठ्यक्रम तयार गरी लागू गर्न ढिलाइ गर्नु हुँदैन।(अन्नपुर्ण बाट)








