प्रशिक्षार्थीलाई मजदुर नभई भोलिको इन्जिनियरका रूपमा बुझ्न आग्रह

निजी क्षेत्रले प्रि–डिप्लोमा सिभिल इन्जिनियरिङ (भवन) मा अध्ययनरत प्रशिक्षार्थीहरूलाई मजदुरका रूपमा नभई भोलिका दक्ष इन्जिनियरका रूपमा बुझ्नुपर्नेमा जोड दिइएको छ ।
दैलेखको पञ्चकोशी बहुप्राविधिक शिक्षालय मा आयोजित पेशागत मोटिभेसन कार्यक्रममा नेपाल उघाेग बाणिज्य महासंघ कर्णाली प्रदेश सदस्य कुमार प्याकुरेलले २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिमअन्तर्गत अध्ययनरत प्रि–डिप्लोमा सिभिल इन्जिनियरिङ (भवन) का १६ जना प्रशिक्षार्थीहरूलाई सिकाइको क्रममा मजदुरझैँ काम गर्नुपरे पनि भविष्यमा दक्ष इन्जिनियरका रूपमा स्थापित हुने भएकाले सम्मानपूर्वक व्यवहार गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
उहाँले सिभिल इन्जिनियरिङ केवल किताबमा सीमित विषय नभई फिल्डमा गएर पसिना बगाउँदै सिक्ने व्यावहारिक सीप भएको बताउनुभयो । प्रशिक्षार्थीहरूले बोकेको नाप्ने फिता, लेभल पाइप, डण्डी, कर्नी र हथौडानै भोलिको पहिचान र भविष्य रहेको उहाँको भनाइ थियो ।
प्रशिक्षार्थीहरूलाई प्रि–डिप्लोमा तहको सिभिल इन्जिनियरिङ (भवन निर्माण) तालिमको महत्व, यस क्षेत्रमा रहेका अवसर, फाइदा तथा राज्यले गरेको लगानीको औचित्यबारे जानकारी गराउँदै पढ्दै पनि कमाउँदै पनि भन्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
औद्योगिक प्रशिक्षार्थी तालिमअन्तर्गत विद्यार्थीहरूले पूर्ण रूपमा निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था रहेको छ । साथै विद्यालय र उद्योगमा उपस्थित भएको दिनका आधारमा दैनिक १०० रुपैयाँ यातायात खर्च, पोशाक खर्च, दुर्घटना बीमा तथा निर्माण कम्पनीमा सीप सिक्ने क्रममा पकेट खर्चसमेत प्राप्त गर्ने व्यवस्था रहेको बताइएको छ ।
कार्यक्रममा जनक शर्माले प्रशिक्षार्थीहरूलाई पेशागत रूपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा उत्प्रेरणा प्रदान गर्नुभएको थियो ।
शिक्षालयका निमित्त प्रधानाध्यापक रमेश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सीप विकास इकाई संयोजक हृदेश कुमार केसी तथा इन्स्योर परियोजनाका प्राविधिक अधिकृत रतन बहादुर बिक ले तालिमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
उक्त कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश, सुर्खेतको समन्वय तथा हेल्भेटास नेपाल को प्राविधिक सहयोगमा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालन गरिएको हो । टीभीईटी प्रणालीमार्फत युवा महिला तथा पुरुषहरूलाई सामाजिक तथा आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यसहित कर्णाली प्रदेशमा यस्ता विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।




