Loading... आजः २०८१, ७ कार्तिक बुधबार

फेसबुक स्टाटस

चन्द्र रावत गुराँस दुल्लू न.पा.७, दैलेख

बिहानको चिया प्राय आचार्य होटलको फ्रि वाईफाइको सदुपयोग गर्दौ पिउने बानी छ । म र राजु गएर टेवुलमा वसेकै थिएनौ धनराज र सरोज पनि आए । चियाको गिलास आ–आफ्नो हातमा लिएर हामी नेटमा झुण्डियौँ । धनराजले मुख्य मन्त्रिको फोटो राखेर बढाँइ चढाइँ गरेर स्टाटस लेख्यो र पोष्ट ग¥यो । त्यही पोष्ट विस रुपयाँको चिया नसकिदै ५०० जनाले लाइक गरे , १०० भन्दा बढीले कमेन्ट गरे र १० जनाले सेयर गरेको कुरा उसले हामीलाई देखायो अचेल ऊ निकै चर्चामा छ ।

मुख्य मन्त्रिका हगेका र मुतेका बाहेक सबै कुराहरु ऊ घण्टा घण्टामा पोष्ट गर्छ । तर म उसका पोष्टहरुमा कहिल्यै कमेन्ट गदैन । उसले मलाई पनि मुख्य मन्त्रिको नजिक हुन फेसवुकमा चाकरी गरौँ भनेको हो । मैले मानिन । मेरा मनमिल्ने र नजिकको साथी भए पनि अचेल ऊ प्रति मेरो ध्यान जादैन । उसले धेरैदिन भन्यो कम्तिमा बधाइ छ, भेरी गुड वर्क त लेख्नुहोस भनेर कर ग¥यो । मैले सोधँे किन गर्ने ? उसको उत्तर थियो तपाइँ त क्याम्पसको टप विद्यार्थी, लोकसेवा पास गरेर जागिर गर्न सक्नु हुनेछ ।

मैले कसरी जागिर पाउँला । मैले मुख्य मन्त्रीको चाकरी गरेँ भन्ने कतै जागिर पाउँला । नभए तपाइँ जस्ता प्रिय मित्रहरु छोडेर, घरखेत बेचेर विदेश जानुपर्ने हुन्छ । म जस्ता कैयौ साथीहरु गएकै छन पनि । उसले यस्ता धेरै कुराहरु गरेर मलाई कन्भिन्स गर्न खोज्यो, तर मैले भनिदिएँ मुख्य मन्त्रि तिम्रा मात्र होइनन् हाम्रा पनि हुन् । उनले गरेका केही काम राम्रा पनि छन् तर मलाई यो चाकरीवाज विल्कुल मन पर्दैन । तिमी जस्ता चाकरीवाजले हामी जस्ता टेलेन्ट यूवाहरु पनि परजिबी हुनु परेको छ । म तिम्रा स्टाटसहरलाई घृणा गर्दछु ।

अर्को दिन धनराजे क्याम्पसका ६० जना विद्यार्थीलाई मुख्य मन्त्रिको पार्टिमा प्रवेश गराएको फोटो सहितको समाचार खुव भाइरल भयो । मैले मेरो क्याम्पसकै अर्को साथीलाई सोधे “तिमीहरु आजभोली किन धनराजको पछि लागेका छौ ।

उसले गरेका सबै पोष्टमा तिमीहरु खुबै लाइक कमेन्ट र सेयर गर्दछौ किन होला ? उसले मलाई जवाफ दियो हामीहरु पार्टीमा भन्दा पनि धनराजकै भलाइका लागि उसको पछि लागेका छौ ।

कम्तिमा हाम्रो एकजना साथीले मात्रै पनि मन्त्रालयमा जागिर पाएमा त्यहाँका सबैकुरा हामीलाई थाहा हुन्छ । पार्टी त न उसलाई चाइएको छ न हामीलाई । तपाइँलाई लागेको होला अस्ति क्याम्पसमा पार्टी परिवर्तन गर्ने सबै केटाहरु क्याम्पस पढ्ने विद्यार्थी हुन् । तर तेसो होइन । फोटो खिचाउनको लागि होटेलमा काम गर्ने, उद्योग धन्दामा काम गर्ने केटाहरु पनि लिएर राखेका थियौँ । यही कारणले धनराजलाई जागिर अनुरोध गरेका थियाँै । त्यसपछि मैले बुझे नक्कली कुराको विज्ञापन धेरै हुँदो रहेछ ।

फेसबुकका भित्ताहरुमा धनराजको खुबै चर्चा चलिरहेको थियो । मुख्य मन्त्रिकै कार्यालयमा जागिर हुने गाइँगुइ चल्यो । हेर्दा हेर्दै केही दिन मै प्रदेश सरकारको परिचयपत्र घाँटीमा झुण्डाएर मेरो अघाडी आउने भयो । यूवा भनेको धनराज जस्तै हुनुपर्छ भन्ने चर्चा चल्यो । उसले पार्टीका लागि रातदिन खटेर काम गरेको छ अरे । क्याम्पसमा परिक्षा दिएका कुनै पनि विषय उसले पास गर्न सकेको छैन तैपनि ऊ पार्टीका लागि हाइहाइ भएको छ । सबैलाई सपनाहरु देखाउँदै कति जालझेल गर्दै उ फेसवुके यूवा नेता भयो र जागिर पनि पायो । उसले परिचय पत्र घाँटीमा झुण्डाउँदै मन्त्रालयको टेवुलमा काम गर्दैको फोटो पोष्ट गर्याे ।

उसले जागिर पाएको एक हप्तामै प्रदेश सरकार ढल्यो । प्रदेशका मुख्य मन्त्रिले विश्वासको मत लिन सकेनन् । बहुमतको सरकार बनाउन अर्कोपाटीका एक जना मुख्य मन्त्रि भए । धनराज नयाँ मुख्य मन्त्रिलाई बधाई र माला लगाउन सुरुकै लाइनमा लाग्यो । बधाई दियो र फोटो खिच्यो र लोकतान्त्रिक पद्दतीवाट मुख्य मन्त्रि हुनुभएका श्री फलानो लाई भव्य शुभकामना छ भन्दै फेरी फेसवुकमा स्टाटस लेख्यो । तत्काल उसले आफ्नो फेसवुकमा भएका पुराना स्टाटसहरलई डिलिट गर्दै बधाइका शब्द गुच्छा अर्पण गर्द नयाँ मुख्य मन्त्रिलाई नयाँ स्टाटस लेखेर पोष्ट गर्न थाल्यो ।