‘जिम्मेवारी पूरा नगरी हात बाँधेर बस्नु पनि भ्रष्टाचार हो’
काठमाडौं : भूमी व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेष नारायण पौडेलले आफ्नो जिम्मेवारी पूरा नगरी हात बाँधेर बस्नु पनि भ्रष्टाचार भएको टिप्पणी गरेका छन्। निजामती सेवा दिवसको अवसरमा मालपोत कार्यालय लेखनाथ कास्कीका प्रमुख हरि भूजेलको विचारलाई समर्थन जनाउँदै उनले यस्तो बताएका हुन्।
पौडेलले भ्रष्टाचार भयो भनेर आवाज उठाउने र विरोध गर्ने धेरै व्यक्ति आफैँमा महाभ्रष्ट भएको बताए। उनले लेखेका छन्, ‘मेरो विचार र अनुभवमा भ्रष्टाचार भयो भनेर आवाज उठाउने र विरोध गर्ने धेरै व्यक्ती/समूह आफैँमा महाभ्रष्ट छन्, काम गर्नु भ्रष्टाचार होइन बरु आफ्नो जिम्मेवारी पूरा नगरी हात बाँधेर बस्नु/जोखिम नलिनु आफैमा भ्रष्टाचार हो।’
पौडेल प्रमुख जिल्ला अधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको प्रमुखका रुपमा पनि कार्य गरिसकेका प्रशासक हुन्।
मालपोत कार्यालय लेखनाथ कास्कीका प्रमुख भूजेलले आफू मालपोत कार्यालयमा काम गर्दैमा भ्रष्ट नसोच्न आग्रह गरेका छन्। उनले भ्रष्ट्र बनाउने प्रवृति र सोचले नजिक नआउन चेतावनी दिएका छन्। पछिल्लो समयमा मालपोत र भन्सारका कर्मचारी भ्रष्टाचारमा लिप्त हुने जनमानसमा छाप परेकाले सबै उस्तै नहुने प्रतिक्रिया स्वरुप उक्त टिप्पणी गरेका हुन्।
भुजेलले लेखेका छन्, ‘हो,म मालपोतमा काम गर्छु। यसको अर्थ म भ्रष्ट्र छु नसोच्नुहोला। तीनपुस्ते सम्पती खुलमखुला भन्न सक्छु। ‘इमानदारीता’घमण्ड होइन ‘कर्तब्य’हो। भ्रष्ट बनाउने प्रवृती र सोचले नजिक नआउनुहोला। निजामती सेवा दिवसको शुभकामना।’




