Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

दाजुबहिनी नै मृगौला पीडित,दक्षिण कोरियामा कार्यरत नेपालीकाे सहयोग

दैलेख ः नौमूले गाउँपालिका–१ तोलीका ४२ बर्षिय दत्तप्रसाद ढकाल पेशाले शिक्षक हुन् । शिक्षण पेशा र परिवारको गर्जो टार्दै आएका ढकाललाई सात बर्ष अघि मृगौलामा समस्या देखियो । उनि उच्च रक्तचापका बिरामी थिए ।

त्यसको सोझै प्रभाव मृगौलामा देखा प¥यो । मृगौलामा समस्या देखापरेपछि उनले सुर्खेतस्थित माया नर्सिङ होममा परीक्षण गराए । नर्सिङ होमले मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा रिफर ग¥यो । ‘केन्द्रमा परिक्षण गर्दा दुईवटै मृगौलामा समस्या देखियो तर, मृगौला बिग्रन थाल्दासमेत मलाई अनुभुति भएको थिएन्, उनले भने ‘डाक्टरहरुले मृगौला प्रत्यारोपण वा डायलासिस गनुपर्छ भन्नुभयो ।’
मृगौलामै समस्या देखिएको हो होइन भनेर उनि ढुक्क हुन भने सकेनन् ।

रकम जोडजाम गरेर उनि भारतसम्म पुगे । ‘त्यहाँको एक अस्पतालमा परिक्षण गर्दा दुवै मृगौलामा समस्या देखिएको रिपोर्ट आयो,’ दत्तप्रसाद भन्छन् ‘अब मृगौला प्रत्यारोपण गरेपनि नेपालमै गर्नुपर्छ भनेर फर्किए ।’ आर्थिक अभावका कारण लामो समय मृगौला प्रत्यारोपण हुन सकेन् । रकम जुटाएर पुनः मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा पुगेका ढकाललाई उनका बुबा बर्मलाल ढकालले मृगौला दिन तयार भए । तर, अन्तिममा प्रत्यारोपण गर्न मिलेन् ।

सहयोग रकम मृगौला पीडित दत्तप्रसाद ढकाल हस्तान्तरण गरिँदै । तस्विर : पंचकाेशी

बिग्रेको मृगौला जोगाउन गरिएका प्रयासहरु असफल भएपछि उनी जीवन र मरणको दोसाँधमा पुगिसकेका थिए । यही बेला श्रीमती सिता ढकाल श्रीमानलाई मृत्युको मुखबाट फिर्ता ल्याउन अग्रसर भइन् । भाग्यले पनि साथ दिएकै मान्नुपर्छ– श्रीमती सिताको मृगौला दत्तप्रसादलाई ‘फिट’ भयो । ०७२ भदौ ३१ गते उनको मृगौला प्रत्यारोपण सफल भयो । पहिलोपटक आमाबाट जीवन पाएका दत्तप्रसादले दोस्रोपटक श्रीमतीबाट नयाँ जीवन पाए ।

आफ्नो उपचारका क्रममा झण्डै ३० लाख रुपैयाँ खर्च भएको दत्तप्रसाद बताउँछन् ।
आफ्नो मृगौला प्रत्यारोपण गरेर घर फर्किएका दत्तप्रसादलाई पुनः अर्को समस्या आईप¥यो । बहिनी नविना ढकालको समेत मृगौलामा समस्या देखिएपछि ठूलो आर्थिक समस्या झेल्नुप¥यो । हाल २४ बर्षिया नविना महिनौदिनसम्म डायलासिस भएको थियो । मृगौला प्रत्यारोपण गर्न तयारी थालिएपनि आर्थीक अभावका कारण दत्तप्रसादले बहिनीको मृगौला प्रत्यारोपण गर्न सकेनन् ।

विभिन्न ठाउँबाट सहयोग जुटाएर २०७५ मंसिर २ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बहिनी नविनाको मृगौला प्रत्यारोपण भएको दत्तप्रसादले बताए । नविनालाई बुबा बर्मलाल ढकालले मृगौला दिएका थिए ।

मृगौला पीडित दाजुबहिनीलाई सहयोग

मृगौला पीडित एकै घरका दाजुबहिनी दत्तप्रसाद ढकाल र नविना ढकाललाई सहयोग गरिएको छ । दक्षिण कोरियामा कार्यरत नेपालीहरुले सहयोग रकम पठाएका हुन् । दक्षिण कोरियामा रहेका बखत थापा लगाएतको पहलमा सहयोग रकम संकलन गरिएको थियो । त्यहाँ रहेका नेपालभरमा एक सय २८ जनाले सहयोग रकम जुटाएर पठाएका थिए ।

आइतवार उक्त रकम मृगौला पीडित दत्तप्रसाद ढकाललाई हस्तान्तरण गरिएको छ । पीडित परिवारलाई दुई लाख ९० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको लायन्स क्लबअफ दैलेखका कोषाध्यक्ष अबिषेक अनुरागले बताए । ‘दक्षिण कोरीयामा कार्यरत नेपालीहरुले पठाउनुभएको रकम पीडितलाई हस्तान्तरण गरेका छौ,’ अनुरागले भने ।
मृगौला पीडित दत्तप्रसादले सहयोग गर्ने व्यक्तिहरुलाई धन्यवाद दिएका छन् । ‘हामी दुई दाजुबहिनीको उपचारका क्रममा झण्डै ६० लाख खर्च भयो, अहिलेपनि नियमित परिक्षण र औषधी खाईरहनुपर्छ’ दत्तप्रसादले भने ‘दुई दाजुबहिनीलाई औषधीमा मासिक ३५ हजार बराबरको खर्च हुन्छ ।’ आर्थिक अभाव झेल्दै आएका दत्तप्रसाद भन्छन् ‘अहिले बहिनी र मलाई औषधी किन्न र नियमित परिक्षण गर्नै हम्मे हम्मे परेको छ ।’

समाचार