कोरोनाको महामारीमा राजनीतिक भेला
दैलेख ः कोरोना भाइरस (कोभिड–१९)को महामारीको बेला पनि दैलेखका स्थानीय तहका विभिन्न गाउँहरुमा राजनीतिक पार्टीका कार्यक्रमहरु रोकिएका छैनन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल नेपाली कांग्रेसले कार्यकर्ता भेला, छलफल तथा पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिएका छन ्। अहिले नेकपा र कांग्रेसमा कार्यकर्ता भेला गर्नेदेखि पार्टी प्रवेश गराउने प्रतिस्पर्धा चलिरहेको छ ।
केहि दिन अघि जिल्लाको भैरबी गाउँपालिका–३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वडा कमिटीको आयोजनामा पार्टी कार्यालय उद्घाटन भयो । कार्यक्रममा कर्णाली प्रदेश सांसद सुशिल थापाले अन्य दलका झण्डै चार दर्जन कार्यकर्तालाई नेकपामा प्रवेश गराए । उक्त कार्यक्रममा सांसद थापामाथि स्थानीय केहि युवाहरुले हातपातको समेत प्रयास गरेको खबर सार्वजनिक भयो ।
बुधबार मात्रै भैरबी गाउँपालिका–३ मै नेपाली काँग्रेसले एक कार्यक्रमको आयोजना ग¥यो । कांग्रेसका जिल्ला स्तरिय नेताहरुको उपस्थितीमा नेकपाका झण्डै तीन दर्जन कार्यकर्ताहरुलाई कांग्रेसमा प्रवेश गरे ।
त्यतिमात्रै होइन भदौ २९ गते नेकपाले भगवतीमाई गाउँपालिकाको बेस्तडामा अगुवा कार्यकर्ता भेलाको आयोजना ग¥यो । कर्णाली प्रदेश सांसदद्धय अम्मरबहादुर थापा, मिनासिंह रखाललगायतका नेकपाका नेताहरु सहभागी अगुवा कार्यकर्ता भेलामा अरु पार्टीका केही कार्यकर्तालाई समेत स्वागत गरिएको थियो । कोरोना संक्रमण दर ह्वात्तै बढेका बेला दैलेखलाई ‘कोरोनाको रेड जोन’ को रुपमा हेरिएको थियो । स्थानीय नागरिकहरुमा कोरोनाको त्रास कायमै छ ।
कोरोना संक्रमणको त्रास कायमै रहेको बेला राजनीतिक दलहरुले अगुवा कार्यकर्ता भेटघाट, छलफल, बैठक, पार्टी प्रवेश लगायतका राजनीतिक कार्यक्रम जारी राखेका छन् । सामान्य सावधानीसमेत नअपनाई पार्टीका कार्यक्रमलाई निरन्तरता दिँदा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ ।
गाउँगाउँमा राजनीतिक दलहरुको भेला र जमघटले गर्दा कोरोनाको त्रास झन बढिरहेको स्थानीय नागरिक बताउँछन्। सचेतना फैलाउनुपर्ने व्यक्तिहरु नै जथाभावी कार्यक्रममा सहभागी हुन थालेपछि समुदायमा गलत सन्देश गएको समाजका अगुवाहरुको भनाई छ । कोरोना भाइरसको संक्रमणबाट बच्न थप सजगता अपनाउन, सामाजिक दुरी कायम गर्दै भीडभाड नगर्न आग्रह गर्दै आएको जिल्ला प्रशासन कार्यालय दैलेख राजनीतिक भेलाबारे बेखबर छ । आजको पंचकोशी खबर दैनिकमा समाचार छापिएको छ ।




