विद्यार्थीको स्वास्थ्य सुरक्षामा ध्यान देउ
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले प्रभावित पारेको क्षेत्रमध्ये शिक्षा पनि हो । विद्यार्थीहरु चैत्र देखि विद्यालय जानबाट बञ्चित भई घरमै बस्न बाध्य छन् । विद्यालयको हकमा बैशाख देखि नयाँ शैक्षिक सत्र सुरु हुने भएपनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत चैत्र पहिलो साता नै नयाँ शैक्षिक सत्रको भर्ना नलिन आग्रह गरेको थियो । त्यसको दुई महिनापछि जेठ १८ गते कोरोना भाइरसका कारण बन्द रहेका विद्यालयको नियमित पठन पाठन सूचारु गर्न मन्त्रालयले बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजिकरण निर्देशीका २०७७ जारी गरेको थियो । सोहि आधारमा गत असार १ गतेदेखि बैकल्पिक सिकाई सञ्चालन भएको भयो ।
बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजिकरण कार्यक्रमलाई आधार मान्दै मन्त्रालयले भदौ १९ गते विद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७ स्वीकृत गरेको छ । शिक्षण सिकाई कार्यलाई निरन्तर, प्रभावकारी र व्यवस्थित गर्न स्वीकृत भएको निर्देशिकामा असोज १ गतेबाट विद्यार्थीको सिकाई सहजिकरण गर्न गराउन संघ प्रदेश र स्थानीय तहका सबै निकाय र सरोकारवालाहरुलाई मन्त्रालयले अनुरोध गरेको थियो । सोहि अनुरुप दैलेखका स्थानीय तहहरुले विद्यालय सञ्चालन र पठनपाठन सञ्चालनमा ल्याउन थालेका छन् । कोरोना भाइरसको काररण देखाउँदै चैत्र देखि बन्द रहेका विद्यालय र पठनपाठन गतिविधि सुचारु हुन थालेका हुन् ।
कोरोना संक्रमणको त्रास कायमै रहेको बेला विद्यालय सञ्चालनमा आई पठनपाठन सञ्चालन हुनु सकारात्मक पक्ष हो । यसले बालबालिकाको निरन्तर सिकाई प्रक्रियामा सहज हुन्छ । तर संक्रमणबाट बच्न सतर्कता अपनाउनुपर्छ । पठन पाठन सञ्चालनका लागि सर्वप्रथम क्वारेन्टाइनको रुपमा प्रयोग भएका विद्यालय भवनलाई स्यानिटाइज गर्न स्थानीय तहले ध्यान दिनुपर्छ । लामो समय देखि बन्द रहेका विद्यालयको कुनाकाप्चा सफाइ गर्न जरुरी छ । सामाजिक दुरी कायम गरेर बालबालिकाहरुलाई विद्यालयमा उपस्थित गराउनुपर्छ । पठन पाठन पनि सोहि अनुसार हुनुपर्छ । साथै मास्क र सेनीटाइजरको अनिवार्य प्रयोगमा जोड दिनैपर्छ । समग्रमा विद्यालय सञ्चालन गरेर पठन पाठनलाई निरन्तरता दिनुमात्रै नभई बालबालिकाहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिनु अहिलेको आवश्यकता हो । आवश्यक सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्दा कोरोना संक्रमणको जोखिमबाट बालबालिकाहरुलाई जोगाउन सकिन्छ ।








