अमेरिकाका महिला फुटबल खेलाडीले मागे पुरुष सरहकाे पारिश्रमिक
लण्डन, २८ वैशाख । अमेरिकाको महिला फुटबल टोलीले पुरुष टोली सरह समान पारिश्रमिक पाउनु पर्ने दाबीसहितको मुद्दा पुनरावेदन गरेको छ । संघीय अदालतका न्यायाधीश ग्यारी क्लाउस्नरले गएको हप्ता सो मुद्दा खारेज गरेका थिए ।
पुरुष खेलाडीको तुलनामा कम पारिश्रमिक पाएको भन्ने महिला टिमका खेलाडीको दाबी न्यायाधीशले अस्वीकार गरेका थिए ।
गएको वर्ष महिला टिमका २८ खेलाडीले अमेरिकी सकर फेडेरेसन (युएसएसएफ) विरुद्ध उजुरी दिएका थिए । तर संघीय अदालतले खारेज गरेपछि अमेरिकी महिला टोलीले आफ्नो लडाईँ पुनरावेदनमा लगेका हुन् ।
समान पारिश्रमिक दिनु पर्ने कानून अन्तर्गत आफूहरुले ६६ मिलियन डलर क्षतिपूर्ति पाउनु पर्ने माग उनीहरुले गरेका छन् । खेलाडीहरुकी प्रवक्ता मोली लेविन्सनले शुक्रबार पुनरावेदन गरिएको पुष्टि गरेकी हुन् ।
संघीय अदालतका न्यायाधीश ग्यारी क्लाउस्नरले यात्राको क्रममा महिला खेलाडीहरुलाई पुरुष टिमको तुलनामा फरक व्यवहार भएको कुरा स्वीकार गरेका थिए । त्यसको सुनुवाई लस एन्जलसमा आउँदो जुन १६ हुने तय भएको छ ।










