Loading... आजः २०७८, ५ आश्विन मंगलवार

अस्पताल भवन बन्यो, सञ्चालनमा आएन्

दैलेख ः जिल्लाको भगवतीमाई गाउँपालिका–३ सान्तडामा भवन निर्माण सम्पन्न भएको एक बर्ष बितिसक्दा समेत १५ शैयाको अस्पताल सञ्चालनमा आएको छैन् । अस्पताल निर्माणका लागि स्थानीयले निशुल्क जग्गा उपलब्ध गराएका थिए । १५ रोपनी क्षेत्रफलमा अस्पतालको भवन एक बर्ष अघि नै निर्माण सकिएको थियो । भवन निर्माण सकिएको एकबर्ष बितिसक्दा समेत अस्पताल सञ्चालनमा आउन सकेको छैन् ।

भवन अहिले प्रयोग विहिन अवस्थामा छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाका अनुसार झण्डै एक करोडको लागतमा भवन निर्माण भएको हो ।एउटा भवन बनिसक्यो, अन्य संरचनाहरु निर्माणधिन अवस्थामा छन्, अध्यक्ष थापाले भने ।
अस्पताल सञ्चालनका लागि पहल भईरहेको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत नआएकोले अस्पताल सञ्चालनका कठिनाई भएको अध्यक्ष थापाले बताए । ‘पूर्वाधार बन्यो तर, स्वीकृत नपाएपछि सञ्चालनमा समस्या भईरहेको छ,’ अध्यक्ष थापाले भने ।

‘अस्पताल सञ्चालनका लागि डाक्टर ल्याउन विज्ञापन खोलेका थियौ,’ गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले भने ‘विज्ञापन अनुसार एक जनाको मात्रै दरखास्त परेको थियो, तर, सम्झौता गर्न आउनुभएको छैन् ।’ गाउँपालिकाले अस्पतालबाट बिशेषज्ञ डाक्टर सहितको सेवा दिने लक्ष लिएको अध्यक्ष थापा बताउँछन् ।
यहाँका सर्वसाधरणहरुले स्तरीय अस्पतालको सधैँ अभाव झेल्दै आएका छन् ।

अस्पताल सञ्चालनका लागि भवन बनेपनि सञ्चालनमा नआउँदा सर्वसाधरणहरु सामान्य बिरामी भए पनि ठूलो रकम खर्चिएर नेपालगंज देखि भारतसम्म जानुपर्ने बाध्य छन् । ‘गाउँपालिकामै १५ शैयाको अस्पताल सञ्चालन गर्ने भन्दै भवन निर्माण भएको छ तर, अस्पताल सञ्चालनमा आउन सकेको छैन्, स्थानीय देवीसरा अधिकारी भन्छिन् ‘बिरामी पर्दा महंगो रकम खर्चिएर सुर्खेत नेपालगंज तथा काठमाडौं धाउनुपर्छ ।’ गाउँमै गुणस्तरिय स्वास्थ्य सेवा पाउने सपना अधुरै रहेको अधिकारीले बताइन् ।