निर्माणाधिन मन्दिर अलपत्र
दैलेख ः बाजुराको बडिमालिकामाई पछि कान्छि बहिनीको रुपमा आस्था र जनविश्वास रहेको दैलेखको दुल्लु नगरपालिका–१३ मा स्थित मालिकामाईको मन्दिर निर्माण अलपत्र परेको छ । दुल्लु नगरपालिकाको १०, ११, १२, ६ र १३ नम्बर वडाको केन्द्र बिन्दुमा रहेको उक्त मालिकामाईको मन्दिर निर्माण सुरु भएको झण्डै एक वर्ष बितिसक्दा समेत गति लिन नसकेको हो । कर्णाली प्रदेश सरकार, उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयको झण्डै ५० लाख लागतमा आर्थिक वर्ष २०७६÷०७७ बाट निर्माण थालिएको निर्माणाधिन मालिका मन्दिर अलपत्र बनेको हो ।
नगरपालिकाकै अग्लो स्थानमा रहेको मालिका मन्दिरको सुन्दरतामा मन्दिर निर्माण सम्पन्न नहुँदा कुरुप बनेको छ । हाल मन्दिरका सामाग्रीहरु नजिकै ढुंगाको आडमा टिनले बारेर थन्किाइएको छ । पुजाआजामा समेत समस्या थपिएको छ । मन्दिर निर्माण भइसक्नुपर्ने समयमा मन्दिरको काम आधा पनि भएको छैन ।
मन्दिर निर्माणको काममा दुल्लु नगरपालिका समेत बेखवर छ । कुन निकायबाट बजेट निकासा भएको हो र कसले काम गरिरहेको छ भन्ने बारेमा नगरपालिकालाई जानकारी छैन् । नगरपालिकाका योजना शाखा अधिकृत तुलसीप्रसाद उपाध्यायले जिल्ला वन डिभिजन कार्यालय दैलेख मार्फत प्रदेशको बजेटमा मन्दिर निर्माण भइरहेको बताए । उनले ठेकेदारको लापरबाहीको कारण काम हुन नसेको र सबै कुरा जानकारी नरहेको बताए ।
दुल्लु नगरपालिकाले मन्दिरको लागी ठुलो प्रतिक्षालय, सार्वजनिक शौचालय, प्रवेद्धारमा रेलिंग र सिढी लगाएत केहि भौतिक पुर्वाधार निर्माण गरिसक्दा समेत मन्दिरको निर्माण कार्यले पुर्णता नपाउँदा त्यसको अस्थित्व संकटमा पर्न थालेको स्थानीय बताउँछन् । नगरपालिकाकै पर्यटकीय गन्तव्यको रुपमा रहेको उक्त मन्दिर निर्माणले पूर्णता पाउनुपर्ने स्थानीयले माग राखेका छन् ।




