Loading... आजः २०८१, ३० फाल्गुन शुक्रबार

माटो सुहाउँदो बाली,लगाउँदै दुल्लुका किसान

सुहाउदो बालिबा लागि माटो परिक्षण गरिदै दुल्लु नगरपालिकामा

दैलेख ः जिल्लाको दुल्लु नगरपालिका भित्रका किसानले अब माटो सुहाउँदो बाली लगाउने भएका छन् । त्यसका लागि एकिकृत कृषि प्रयोगशाला सुर्खेतको आयोजनमा दुल्लु नगरपालिका भित्रका किसानको माटो परिक्षण शिविर विहीबारबाट दुल्लुमा सुरु भएको छ । किसानको माटो परिक्षणको लागि नगरपालिका भित्रका किसानहरुलाई आफ्नो बारीमा भएको माटो परिक्षण गर्ने नगरपालिका कृषि विकास शाखाले आग्रह गरेको छ । दुल्लु नगरपालिकाको समन्वयमा भएको २ दिने माटो परिक्षण शिविर शुक्रबारसम्म हुने कृषि प्राविधिक राजन कुमार विष्टले बताए ।
प्रत्येक वडाबाट १५ जना किसान सहभागी हुने गरी एक सय ९५ जना किसानको संलग्नता रहेको शिविरमा विहिबार मात्रै करीब ७५ जना किसानको बारीको माटोको नमुना संकलन गरी परिक्षण गरिएको छ । यस शिविरमा करीब तीन सय जना किसान लाभान्वित हुन अनुमान गरिएको छ ।
किसानको बाली उत्पादन घट्दै गएको सन्दर्भमा दुल्लु नगरपालिकाका किसानले अब माटो अनुसारको बाली लगाउन पाउने माटो प्रशिक्षक प्रयोगबहादुर शाहीले बताए । उनका अनुसार माटो परिक्षण गरेर माटोमा भएको नाइट्रोजन, फस्फोरस, पोटासको मात्र र (पि.एच) अम्लिय र क्षारीयपन नापेर किसानले कुन माटोमा कुन प्रकारको खेती गर्ने भन्ने कुराको जानकारी लिई माटो सुहाउँदो बाली लगाउने भएका हुन ।
दुल्लु नगरपालिका भित्रका किसानहरुले पहिलेको तुलनामा बाली कम उत्पादन हुँदै गएको भन्ने गुनासोलाई मध्यनजर गर्दै किसानका समास्यालाई सामाधान गरी माटोको परिक्षण गरिएको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए । माटोको उर्वर शक्ति के–कस्तो छ भनेर बुझ्नलाई एकिकृत कृषि प्रयोगशाला सुर्खेतबाट जनशक्ति ल्याई माटो परिक्षण गर्नुपरेको नगर प्रमुख भण्डारीको भनाई छ ।