Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

तत्काललाई कर्णाली प्रदेश शान्त, कस्तो छ समीकरण ?

कर्णाली प्रदेश सरकार के हुन्छ भन्ने विषय अहिले खुबै चासोमा छ । बागमती प्रदेश र प्रदेश १ मा नेकपा विभाजनको प्रभावबाट मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेका कारण कर्णालीप्रति चासो अस्वाभाविक होइन ।  किनभने नेकपा नफुट्दै सरकार परिवर्तनका लागि २५ असोजमा एक पटक प्रयास भइसकेको थियो ।

नेकपाको ओली समूहका नेता यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसको बाछिटा काठमाडौंसम्म तानियो र अध्यक्षद्वय प्रचण्ड र केपी ओलीबीच दूरी बढाउने काम गर्‍यो ।  पार्टी विभाजनका धेरै कारणमध्ये कर्णाली पनि एउटा हो ।

तर, अहिले कर्णाली प्रदेशमा सरकार परिवर्तनको खेल सुरु भइसकेको छैन । दुवै समूहका नेताहरू काठमाडौंमा छन् । पहिलाको असफल प्रयासबाट आत्तिएका कँडेल परिस्थिति परिपक्व नभई अर्को प्रयास गर्ने मुडमा छैनन् । कँडेलनिकट एक सांसदका अनुसार अहिले सरकार परिवर्तनको खेल अन्य प्रदेशमा भन्दा पछि नै हुन्छ । ती सांसदको भनाइमा अहिले कति सांसद कता भन्ने पनि प्रष्ट भइसकेको छैन, जसले गर्दा सरकार फेरबदलमा प्रयास गर्न सकियोस् ।

सरसर्ती हेर्दा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा २० जना सांसद छन् । पूर्वमाओवादीबाट निर्वाचित १३ जना सांसद थिए, त्यसमध्ये २ जना धर्मराज रेग्मी र ठम्मर विष्ट नेकपाको ओली समूहमा लागेपछि अहिले ११ जना मात्रै बाँकी छन् । उता माधव नेपाल समूहका आठ जना सांसद हुन् । त्यसो हुँदा प्रचण्ड–माधव समूहमा १९ जना सांसद मात्रै देखिन्छ ।

तर, मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिनका लागि २१ सांसदको सख्या आवश्यक पर्छ । त्यसो हुँदा मुख्यमन्त्री शाहीले कांग्रेसको साथ लिन सक्छन् । तर, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नै मुख्यमन्त्रीको चाहना राखेमा मुख्यमन्त्री शाहीलाई अप्ठ्यारो पर्नेछ ।

१४ जना सांसद रहेको ओली समूहले कांग्रेससँग मिल्दा मात्रै सरकार बनाउन सक्दैन । राप्रपाको एक सिट रहेकाले त्यसलाई पनि तान्न सक्यो भने ठिक्क २१ सिट हुन्छ । पूर्वएमालेका यामलाल कँडेलनिकट देखिएका कारण राप्रपाकी सांसद सोशिला शाही ओली समूहसँग निकट हुन सक्छिन् । त्यस्तो अवस्थामा कांग्रेसले मुख्यमन्त्रीको बार्गेनिङ गर्न सक्छ ।

अहिले मुख्यमन्त्री शाही अर्थात् प्रचण्ड–माधव समूह राप्रपाकी सोशिला शाहीलाई साथ लिने र सभामुख राजबहादुर शाहीलाई मौन राख्ने रणनीतिमा लागेको छ । पहिला ओली समूहमा रहेका शाही पछिल्ला दिनमा यामलाल कँडेलसँगको टसलका कारण ओली समूहमा खुलेका छैनन् । सभामुख शाहीसहित कँडेल समूहसँग १४ सांसद हुने हो । सभामुख ओली समूहमा नखुल्दा १३ जना मात्रै हुनेछन् । त्यसैले मुख्यमन्त्री शाहीलाई राप्रपाकी सोशिला शाहीलाई आफ्नो पक्षमा लिए मात्रै पनि पुग्छ ।

कर्णालीमा राजनीतिक र वैचारिकभन्दा बढ्ता ‘ठकुरी’ एक हुन सक्ने आकलन पनि छन् । त्यो अवस्थामा मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही नै कायम रहने र कांग्रेसका जीवनबहादुर शाहीले साथ दिने र सभामुख राजबहादुर शाही मौन बस्न सक्छन् ।

कर्णालीमा रामबहादुर थापा ‘बादल’ समूहका तीन जना सांसद थिए- आन्तरिक मामिलामन्त्री नरेश भण्डारी, सांसद कृष्णा शाह र ठम्मर विष्ट । त्यसमध्ये ठम्मर विष्ट मात्रै बादलसँगै ओली समूहमा लागेपछि मुख्यमन्त्री शाहीलाई थप राहत मिलेको छ ।

ओली समूहका नेता गुलाबजंग शाहले पनि सरकार परिवर्तनमा तत्काल नलाग्ने बताए । शाहको भनाइमा सरकारभन्दा पार्टी निर्माणमा जोड दिनेछ । शिलापत्रबाट

समाचार