सुनितामी परियारको ‘ढुंगाजस्तो मन’ सार्वजनिक
काठमाडौं । प्रेमीकाः ‘आफ्नो मान्छे अर्कैको रजाई, कति रोएँ दुःखका गीत बजाई आँशु झर्यो झन्, सम्झाउँदा पनि सम्झिएन ढुंगाजस्तो मन ।’
प्रेमीः कोमल थियो फूलको थुंगा झैँ, कस्ले कठोर बनायो ढुंगा झैँ आँशु झर्यो झन्, सम्झाउँदा पनि सम्झिएन ढुंगाजस्तो मन ।’
मायाप्रेममा बाँधिएर नचाहेर पनि छुट्न बाध्य भएका एक प्रेम जोडीका यथार्थ पीडादायी कथामा आधारीत गीतको शब्द हो यो । लोक गायिका सुनितामी परियार र पहिलो नेपाल आइडलको टप चारसम्म पुगेका चर्चित गायक सागर आलेको समधुर आवाजमा ‘ढुंगाजस्तो मन’ शिर्षकमा यस गीत र भिडियो बजारमा आएको छ ।
साथै, यस गीतको शब्द राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले रचना गरेका हुन् । त्यसैगरी जीवन परियारले संगीत भरेको गीतमा सुदीप सागरको संगीत संयोजन रहेको छ । गीतको शब्दमा सुरुवादेखि अन्तिमसम्म नै प्रेम प्रेमीकाबीच माया र विभिन्न वेदनाका भावले लपेटेको छ । गीत गायनमा क्रमशः प्रेमीकाबाट सुरु हुन्छ ।
‘बिन्ती गरेँ रुँदै पाउ छुँदै, तिम्रो पाउले कुल्चेको ठाउँ छुँदै आँशु झर्यो झन्, सम्झाउँदा पनि सम्झिएन ढुंगाजस्तो मन ।’
‘झल्कदैमा हुँदैनन् सबै सुन, मेरा पनि कम्जोरी हुँदा हुन् आँशु झर्यो झन्, सम्झाउँदा पनि सम्झिएन ढुंगाजस्तो मन ।’
‘म नहुँला नहोलान उनै दिन, फर्क्यौ भने सम्झेर उनै दिन आँशु झर्यो झन्, सम्झाउँदा पनि सम्झिएन ढुंगाजस्तो मन ।’
‘माया विना कसरी बाँचीन्छ, बल्ल बुझेँ जब मन भाँचीन्छ आँशु झर्यो झन्, सम्झाउँदा पनि सम्झिएन ढुंगाजस्तो मन ।’
साच्चीकै माया गर्ने जोडीको भोगाइलाई यस गीतले एक शन्देस दिने पर्यत्न गरेको छ । कतिपयले भने माया दुई दिनको खेलौना सम्झिएर एकअर्काप्रति समय खेर फालेको कैयौँ उदाहरण पनि छन् । वास्तवीक माया गर्ने जोडीले मात्रै मायाको परिभाषा बुझ्ने गर्दछन् ।
यस्ता शब्द उक्त गीतमा समावेश गरिएको छ । नेपाली मौलिक लोकभाकामा सुहाउने शब्दलाई टपक्कै टिपेर मायाप्रेममा जोडिएका युवा युवतीहरुलाई यस गीतमार्फत शन्देस दिन खोजिएको गीतकार रमेश बिजीले बताए ।
‘गायिका सुनितामी जिले मलाई सुरुमै गीतको भाका पठाएर शब्द लेख्न आग्रह गर्नुभयो र मैले भाका ध्यान दिएर सुनेपछि सुदीप सागर जिको भाका मन परेर भाकाको मर्मअनुसार नै शब्द लेख्न भित्री मनदेखि नै फुरेर आयो’, गीतकार बिजीले भने ।
गीतको भ्युजभन्दा पनि मौलिक शब्दको मर्म र यथार्थमा कलाकारहरु आत्मनिर्भर हुन आवश्यक रहेकोमा उनको जोड थियो । साथै, यस शन्देसमूलक गीतलाई आम दर्शक स्रोताले सुनेर शेयर गरिदीन उनले आग्रह गरे ।
यस गीतको भिडियोमा पछिल्लो समय गायक र नायक दुवै नामले परिचीत प्रकाश सपुत, नायिका सगुन शाही र संगीता परियारले अभिनय गरेका छन् । त्यस्तै, दुर्गा पौडेलको निर्देशन र छायांकन रहेको भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका हुन् ।
उक्त भिडियो गायिका सुनितामी परियारको आफ्नै युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गायिका परियारले यस गीतको मर्मअनुसार माया गर्ने दुवै जोडीले बिछोड भएपछि चोट पाएर एकले अर्कोलाई सम्झना गरेको शन्देस दिन खोजिएको बताइन् ।
सुनातामीले गायक सागर आलेको आवाज उनि नेपाल आइडलमा हुँदादेखि नै मन परेको र जस्तो गीतमा पनि उनको आवाज मिल्ने भएकाले यस गीत गाउनमा समावेश गराएको बताइन् । २०६६ सालदेखि हालसम्म गायिका परियारले करिब ३०० को हाराहारीमा गीत गाएको र दुई वर्षको अन्तरालपछि आफ्नै प्रस्तुती र युट्यूब च्यानलमार्फत यस गीत बजारमा ल्याएको जानकारी दिइन् ।
त्यस्तै, गायक सागर आलेले पनि गीतकार रमेश बिजीको शब्द रचना सुरुमा पढ्ने बित्तिकै मन परेको सुनाए । उनले भने, ‘रमेश बिजी दाजु धेरै पहिलादेखि नै उत्कृष्ट शब्द लेख्ने गीतकार भनेर चिनेकै मान्छे, गायिका सुनितामी दिदी पनि राम्रो गाउने कलाकार चिनेकै हुनुहुन्थ्यो, गीत गाउँदा रमाइलो महसुस र खुशी लाग्यो ।’
विभिन्न परिवेशका मौलिक कौडा गीत गाउँदै आएका गायक आलेले यस लोकदोहोरी गीतमा भने पहिलो पटक आवाज दिएको जानकारी दिए । पहिलो पटक लोकदोहोरीमा आवाज दिएका उनले आगामी दिनमा गीतको शब्द हेरेर आफूलाई मन परेको खण्डमा अन्य लोकदोहोरी गीतमा पनि आवाज दिने प्रतिबद्धता व्यक्त गरे ।