महिला सशक्तिकरणका लागि महिला शिक्षामा जोड
दैलेख ः दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले महिला सशक्तिकरणको निम्ति महिलाको शिक्षामा जोड दिनुपर्ने बताएका छन् । नारायण नगरपालिका र स्थानीय गैससहरुको संयुक्त आयोजनामा दैलेखमा भएको खुलासभामा उनले सो धारणा राखेका हुन् । ‘महिलाहरुलाई शिक्षामा अगाडि बढाउन सकेमा मात्र चेतना, क्षमता र आत्मनिर्भरता बनाउन मद्धत पुग्नेछ,’ सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले भने ।
नेपाली काँग्रेसका कोषाध्यक्ष पूर्णबहादुर चालिसेले राजनीतिक जागरणले महिला सशक्तिकरण बढेको तर सरकारले महिलाहरुलाई आत्मनिर्भर बनाउन कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरे । नारायण नगरपालिका उपमेयर सावित्री मल्लको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघका तप्ता थापा, नेपाल महिला संघका केन्द्रीय सदस्य निर्मला खड्का, सामाजिक विकास कार्यालयका निमित्त प्रमुख लिलाराम सापकोटा लगायतले महिला अधिकारका बारेमा आ–आफ्नो धारणा राखेका थिए । गणेशचोकबाट सुरु भएको ¥यालीले नगरपरिक्रमापछि टुडिखेल खुलामञ्चमा कार्यक्रम भएको थियो । कार्यक्रममा म्यूजिकल चियर, घैंटो फुटाउने खेल र साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।