Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

स्वास्थ्य सेवा कार्यालय दैलेखलाइ ८ लाख बढीको स्वास्थ्य सामग्री प्रदान

दैलेख ःदैलेखको लागि अक्सिजन अभियानमा संकलन भएको ८ लाख बढी रकमले स्वास्थ्य सामग्री किनेर स्वास्थ्य सेवा कार्यालय दैलेखलाई हस्तान्तरण गरिएको छ ।

अभियान्ता ओम रिजाल र मिना थापाको अगुवाईमा भएको सहयोग संकलनमा ३ सय २८ जना सहयोगी मनहरु जोडिएका थिए । अभियानबाट ८ लाख २ हजार ९ सय ४५ रुपैयाँ संकलन भएको छ । उक्त सकंलित रकमले ७ लाख १५ हजार ९ सय रुपैयाँको स्वास्थ्य सामाग्री खरिद गरि साेमबार स्वास्थ्य सेवा कार्यालय दैलेखलाई हस्तान्तरण गरिएको छ ।

दैलेखमा वितरण गरिएको स्वास्थ्य सामग्रीहरुमा अक्सिजन सिलिन्डर ५ थान (१ लाख १० हजार ९ सय), अक्सिजन कन्सन्ट्रेटर मेशिन ५ लिटर १ थान (१ लाख १० हजार), अक्सिजन कन्सन्ट्रेटर मेशिन १० लिटर ३ थान (४ लाख ९५ हजार ) दुल्लु अस्पतालमा १ थान र दैलेख अस्पतालमा २ थान दिईएको छ । बाँकी रहेको ८७ हजार रुपैयाँ पनि तत्काल स्वास्थ्य सामग्री किन्ने अभियान्ताहरु बताउँछन् ।

जिल्लामा अक्सिजन ग्यास उपलब्ध गराउने उद्देश्यले अभियान्ता ओम रिजाल र मिना थापाको अग्रसरतामा आर्थिक संकलन गरिएको थियो । विशुद्ध सेवाभावले चलाईएको अभियानमा सवै जोडिनु भएकोमा अभियान्ता ओम रिजालले धन्यवाद दिए । जिल्लामा कोभिडको बेला स्वास्थ्य सामग्री जुटाउन पाउदा आफूमा खुसीबोध भएको अर्का अभियान्ता मिना थापाले बताईन् । स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थीरप्रसाद रेग्मीले स्वास्थ्य सामग्री बुझ्दै सहयोगी अभियान्ताहरुलाई धन्यवाद दिए ।

समाचार