प्रदेशको सत्ता साझेदारीका विषयमा देउवा, दाहाल र नेपालबीच छलफल
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का माधवकुमार नेपालपक्षबीच प्रदेश सरकारमा सत्ता साझेदारीका विषयमा छलफल भएको छ।
देउवानिवास बूढानीलकण्ठमा सोमबार दिउँसो तीन नेताबीच भएको छलफलमा प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदारीका विषयमा छलफल भएको माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले बताए।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका चार मन्त्रीलाई हटाएपछि तीन दलबीच नयाँ समीकरण बन्न लागेको हो।
‘प्रदेश २ मा जसपाको बाबुराम–उपेन्द्र पक्षको बहुमत छ। त्यहाँ मुख्यमन्त्री पनि उहाँहरुकै हुनुहुन्छ। त्यहाँ माओवादी र कांग्रेसले सहयोग गरेर जाने भन्नेछ’ ती स्थायी समिति सदस्यले भने, ‘त्यहाँ माओवादी र कांग्रेसले मुख्यमन्त्री दाबी नगरेर सघाउने भन्नेछ। प्रधानमन्त्री केपी शर्मा ओली पक्षविरुद्ध रहेका पाँच दल जहाँ जुन पक्षको बहुमत छ त्यहाँ सघाएर जाने भन्ने भएको छ।’
प्रदेश २ मा माओवादी र कांग्रेस, जसपाको बाबुराम–उपेन्द्र पक्षलाई सघाउनेगरी सरकारमा जाने विषयमा छलफल चलेपनि निष्कर्षमा पुगि नसकेको ती नेताले बताए।
यस्तै, बाबुराम–उपेन्द्र पक्षका एक कार्यकारिणी सदस्यले प्रदेश २ मा तीन दल सत्ता समीकरण गरेर जाने विषयमा छलफल चलिरहेको बताए। ‘महन्थ–राजेन्द्र पक्षका मन्त्रीलाई हटाएपछि मुख्यमन्त्री अब अल्पमतमा पर्ने सम्भावना भयो। त्यस्तो अवस्थामा माओवादी र कांग्रेसले सघाउने वचन दिइसकेको छ’ ती नेताले भने, ‘सत्ता समीकरणमा तीन दलको मन्त्री भागवण्डा के हुने भन्ने विषयमा कुनै निर्णय भएको छैन। केही दिनभित्रै माओवादी र कांग्रेसबीच सत्ता सीमरणमा समझदारी हुन्छ।’
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई कांग्रेस, एमालेको नेपाल पक्ष र जसपाको बाबुराम–उपेन्द्र पक्षले सघाउने समझदारी भएको माओवादी अर्का एक स्थायी समिति सदस्यले बताए।
मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिने निर्णय गरेकाले त्यसमा तीन दलले सघाउने भएका छन्। गण्डकी प्रदेशमा प्रस्तावित कांग्रेसका मुख्यमन्त्रीलाई सघाउने समझदारी छ। प्रधानमन्त्री ओलीविरुद्ध एक भएका पाँच दल चुनावसम्मै मोर्चाबन्दी गरेर जाने तय भएकाले जहाँ जुन पक्ष बलियो छ अरुले सघाउने समझदारी गरेका छन्।
तीन नेताबीचको छलफलमा एमालेको नेपाल पक्षले ओलीसँग सम्बन्ध विच्छेद् गर्ने/नगर्ने विषयमा पनि छलफल भएको नेताहरूले बताएका छन्।







