आयुर्वेद चिकित्सकमाथि हातपात गर्नेलाई कारवाही गर्न माग
सुर्खेत ः कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणमा अहोरात्र खटिदै आएका कर्णालीका आयुर्वेद चिकित्सकमाथि हातपात गर्नेलाई कारवाही गर्न नेपाल आयुर्वेद चिकित्सक संघले आग्रह गरेको छ ।
घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै संघले चिकित्सकमाथि हातपात गर्नेलाई हालै जारी भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि (पहिलो संसोधन), अध्यादेश २०७८ बमोजिम पूर्पक्षका लागि थुनामा राखी हदैसम्मको जरिवाना र कैद तोक्न माग गरेको हो । संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले हस्ताक्षर गरेको विज्ञप्तीमा हातपातबाट घाइते प्रदेश आयुर्वेद औषधालय सुर्खेतका कार्यालय प्रमुख डा. शंकरप्रसाद रिजाल, चिकित्सक डा. यादव उपाध्याय र स्वास्थ्यर्मी लोकप्रसाद रेग्मीको उपचारका लागि उचित क्षतिपूर्ति दिलाउन समेत संघले माग गरेको छ ।
कर्णाली प्रदेश आयुर्वेद औषधालयले सञ्चालनमा ल्याइएको आइसोलसनमा बसेका बिरामीको सेवामा खटिएका चिकित्सकद्वयमाथि बिहिबार साँझ १५–१६ जनाको समूहले आक्रमण गरेको थियो । अस्पतालबाट घर फर्किने क्रममा बाटोमा बसेको समूहले हातपात गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । हेल्थ आवाज