कर्णालीमा ‘छोरी सुरक्षा कार्यक्रम’, सात हजारभन्दा बढीको बैंक खाता खोलियो
सुर्खेत : छोरीमाथिको विभेद हटाउन र बालविवाह कम गर्न कर्णाली प्रदेश सरकारले ल्याएको ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरि’ कार्यक्रममा लोकप्रिय हुँदै गएको छ।
केही समयअघि प्रायः दम्पतीहरुले गर्भ रहेको चार÷पाँच महिनामा परीक्षण गरी छोरा भए राख्ने र छोरी भए भ्रुण हत्य गर्ने घटना बढी थियो। सरकारले ल्याएको उक्त कार्यक्रमपछि भने त्यस घटना घट्दै गएको जानकारहरु बताउँछन्।
प्रदेश सरकारले हाल सम्म ६९ वटा स्थानीय तहमा छोरी सुरक्षा कार्यक्रम लागू गरिसकेको छ। कर्णालीका १० जिल्लामा रहेका ७९ वटा स्थानीय तहमध्ये ६९ वटा स्थानीय तहमा यो कार्यक्रम लागू भई छोरीको नाममा बैंक खाता खोलिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यो कार्यक्रम २०७६ साउन १ देखि सुरु भएको हो।
कार्यक्रम लागू भएका ६९ स्थानीय तहमा अहिलेसम्म सात हजार २९९ जना छोरीको बैंक खाता खोलिएको छ। बाँकी १० वटा स्थानीय तहमा कार्यक्रम कार्यान्वयन भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयकी महिला विकास अधिकृत अनिता ज्ञवालीले प्रदेशका १० वटै जिल्लाका सबै स्थानीय तहसँग समन्वय र सम्झौता भई ६९ वटा स्थानिय तहमा कार्यक्रमले निरन्तरता पाएको र १० वटा स्थानीय तहमा काम भइरहेको बताइन्।
‘पाँच जिल्लाका बाँकी १० वटा स्थानीय तहमा कोरोना महामारी तथा अन्य विविध कारण कार्यान्वयनमा गर्न सकिएको छैन,’ उनले भनिन्, ‘साथै विकट जिल्लाका स्थानीय तहमा नेटवर्कले राम्रो काम नगर्ने भएकाले समयमै मेल पाउन नसकिने तथा समयमै बैंकहरुसँग सम्झौता हुन नसकेका कारण र धेरैजसो कर्मचारी समेत संक्रमित भएको कारण पनि समस्या भएको छ।’
स्थानीय तहले कारोबार गरेको बैंकमै त्यस क्षेत्रका छोरीको जन्मिएको दिन खाता खोल्ने व्यवस्था छ। छोरीको नाममा खाता खोल्दा एक हजार रुपैयाँ सरकारले नै जम्मा गरिदिन्छ। र, प्रत्येक महिना सम्बन्धित स्थानीय तहले उक्त खातामा ५०० रुपैयाँ जम्मा गरिदिन्छन्। सबै रकम प्रदेश सरकारले स्थानीय तहहरुलाई कार्यान्वयन गर्न पठाउने र एक अभिभावकले दुईजना छोरीको मात्र खाता खोल्न पाउने व्यवस्था गरिएको अधिकृत ज्ञवालीले बताइन्।
कार्यक्रमको लागि हालसम्म दुई करोड ७६ लाख ९७ हजार ९०० रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ। थाहा खबरबाट