वर्षाले आठ घर भत्किँदा परिवारको विचल्ली
दैलेख । लगातारको वर्षाले कर्णाली राजमार्गमा समेत असर पुगेको छ । देशभर अविरल वर्षा भइरहेको समयमा कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पानीले दैलेखको किटु, कालीकोटको गगनेखोला, पिली सेराबाड, खल्लागाड, भिग्मलगायत ठाउँमा पहिरो खसेको जानकारी आएको छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि साविकको कर्णालीका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेका गाडी बाटोमै रोकिएका छन् । केही ठाउँमा मंगलबार पहिरो पन्छाए पनि वर्षा नरोकिएकाले आवतजावतमा समस्या भयो । बुधबार विहीबार पनि ठाउँठाउँमा पहिरो गएको छ । पानी नरोकिएसम्म राजमार्ग सञ्चालन गर्न नसकिने स्थानीय प्रशासनहरूले जानकारी दिएका छन् । आइतबारदेखि दैनिकजसो वर्षा हुन थालेपछि जनजीवन प्रभावित भएको छ । वर्षाले ठाउँठाउँमा पहिरो खसेपछि जिल्लाका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् ।
दैलेख क्षेत्रमा पर्ने मध्यपहाडी पुष्पलाल लोकमार्ग क्षतविक्षत भएको छ । सदरमुकामदेखि स्थानीय तह जोड्ने सडकहरू हिलाम्मे बनेका छन् । दैलेखका ११ स्थानीय तहमा जोड्ने सडक कच्ची भएकाले नागरिकलाई थप समस्या भएको छ । स्थानीय तहबाट बजारसम्म आएका धेरै नागरिकहरू स्थानीय तहमा जान सकेका छैनन् । स्थानीय तहका कर्मचारी कार्यालयमा हाजिर हुन पाएका छैनन् । बाटोको समस्याले बजारमै बस्नुपर्ने अवस्था आएको भैरवी गाउँपालिकाका इन्जिनियर हिरासिंह थापाले जानकारी दिए । उनले भने, ‘बिहीबार गाउँपालिका जान गाडी लिएर जाँदै गर्दा सडकको अवस्थाले बीच बाटोबाटै दुईपटक फर्कें, अहिले बजारमै छु ।’
वर्षातले सुक्खा समयमा जमिन सुक्खा भएको र एकासि पानी परेपछि जिल्लाभित्रका किसानको कतिपय तरकारी बारिमै कुहिन थालेको छ । ‘कोरोनाको कारण जिल्लामा लकडाउन छ । बाहिर पानीले निस्कन दिँदैन कसरी तरकारी बिक्री गर्ने तरकारी बारीमै कुहिएको छ’, दैलेखको नारायण नगरपालिका–२ की गगनसरा थापाले भनिन् ।
जिल्लामा वर्षातले आठ वटा घर भत्किँदा परिवारको विचल्ली परेको छ । दुल्लु नगरपालिका–९ मा ६ वटा घर भत्किएका छन् । दुल्लु नगरपालिका–२ मा दुई वटा घर भत्किएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । प्रहरीका अनुसार जिल्लामा अन्य ठाउँमा पनि घरहरू भत्किएका हुन सक्छन् । माववीय क्षति भने अहिलेसम्म भएको छैन्, लगातार पानी परिरहेकोले जानकारी नआएको हुन सक्छ ।
वर्षाले जिल्लाका पूर्वी खण्डमा टेलिफोन सेवा अवरुद्ध भएको छ । यस क्षेत्रमा नेपाल टेलिकमका दुई वटा टावर छन् जुन घाम लागे मात्र नेटवर्क आउँछ । विद्युत्को आपूर्ति नहँुदा घाम लागे मात्र यहाँका नागरिकले फोन गर्न पाउने अवस्था छ । मंगलबारबाट लागातार घाम नलागेकोले यहाँका धेरै नागरिकहरू फोन सेवाबाट वञ्चित भएका छन् ।
भगवतीमाई गाउँपालिका–३ मेहेल्तोली र वडा–६ चिपिनमा रहेको टावरमा राखिएको सोलारबाट चार्ज नभए पनि टेलिफोन सेवा अवरुद्ध भएको हुन सक्ने नेपाल टेलिकम दैलेखले बताएको छ । यसैक्रममा जोखम न्यूनीकरणका लागि सतर्क रहन जिल्ला प्रशासन कार्यालय दैलेखले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको प्रक्षेपणअनुसार यस वर्षको मनसुनको अवधि लामो समयसम्म रहने, साविकको भन्दा धेरै वर्षा हुने र जसकारण जनधनको ठूलो क्षति हुने सम्भावना रहेकाले यस विपत्बाट सुरक्षित रहनका लागि प्रशासनले सूचना जारी गरेको छ ।
सूचनामा भनिएको छ । जिल्लास्थित कर्णाली नदी, लोहोरे खोला, छामघाट खोला राघाट खोला, कट्टी खोला, पादुका खोला गलायतका नदी तटीय क्षेत्रमा बाढी जान सक्ने र भिरालो ठाउँमा पहिरो जान सक्ने भएकाले सतर्क रहन सूचित गर्दै जोखिमयुक्त स्थानहरूमा बस्ने नारिकहरूलाई सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन र विपद्जन्य कुनै घटना भएमा नजिकको सुरक्षा युनिट, स्थानीयतह, प्रहरी कन्ट्रोल १०० तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको फोन नम्बर ०८९४१०२३३ मा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय दैलेखले आग्रह गरेको छ ।