Loading... आजः २०७८, १० श्रावण आईतवार

४ दिनमा बाढी र पहिरोमा १५ जनाको मृत्यु, २५ बेपत्ता, ११ घाइते

काठमाडौं । बितेको ४ दिनको अवधिमा देशभरका विभिन्न ठाउँमा गएको बाढी र पहिरोबाट अहिलेसम्म १५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार जेठ ३१ गतेदेखि असार ३ गते साँझसम्म देशभरका विभिन्न जिल्लामा गएको बाढी पहिरोमा परेर १५ जनाको मृत्यु भएको हो । यस्तै बाढी र पहिरोमा परेर अहिलेसम्म २५ जना बेपत्ता रहेका र ११ जना घाइते भएका केन्द्रका प्रमुख दिल बहादुर तामाङले नेपाल प्रेसलाई जानकारी दिए ।

केन्द्रका अनुसार अहिलेसम्म ९ जना बाढीमा र ६ जना पहिरोमा परेर जम्मा १५ जनाको मृत्यु भएको हो । जसमा सिन्धुपाल्चोकमा ३ जना र सप्तरी, काभ्रेपलाञ्चोक, कास्की, अर्घाखाची, गोरखा र बाजुरामा १–१ जनाको बाढीमा परेर मृत्यु भएको छ । यस्तै डोटीमा ३ र पाल्पा, कालिकोटमा र जुम्लामा पहिरोमा परेर १–१ जनाको मृत्यु भएको हो ।

यस्तै बाढी र पहिरोमा परेर २५ जना बेपत्ता भएका छन् । जसमा ्सबैभन्दा बढी सिन्धुपाल्चोकमा १५ जना बेपत्ता भएका छन् भने दोस्रोमा जाजरकोटमा ७ जना बेपत्ता भएका छन् । यस्तै रुपन्देही, प्यूठान र बाजुरामा १–१ जना बेपत्ता भएका केन्द्रले जनाएको छ ।

यस्तै सिन्धुपाल्चोकमा नै सबैभन्दा बढी ६ जना बाढीमा परेर घाइते भएका छन् भने जुम्लामा र डोटीमा २–२ जना घाइते भएका छन् । स्याङजामा पनि १ जना घाइते भएका छन् ।

३२ जिल्लामा मनसुनको प्रभाव, २२ जिल्ला बाढी, पहिरो र अविरल बर्षाबाट प्रभावित

मुलुकभरका ७७ जिल्लामध्ये २२ जिल्लामा बाढी, पहिरो र अविरल बर्षाको प्रभाव परेको छ । मुलुकभरमा ७७ जिल्लामध्ये ३२ जिल्लामा विभिन्न प्रकारका मनसुनको प्रभाव परेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता बेदनिधी खनालले नेपाल प्रेसलाई जानकारी दिए ।

१ सय २९ घरमा पूर्ण र १ सय १४ घरमा आंशिक क्षती
यस्तै मनाङमा सबैभन्दा बढी ५९ घरमा पूर्ण रुपमा क्षती पुगेको छ भने २० घरमा आंशिक क्षती पुगेको छ । सिन्धुपाल्चोकमा पनि १६ घरमा नै पुर्ण रुपमा क्षती पुगेको छ । यस्तै लमजुङमा १८ घरमा पूर्ण क्षती र ७७ घरमा आंशिक क्षती पुगेको छ । १४ जिल्लामा गरेर १ सय २९ घरमा पूर्ण रुपमा क्षती पुगेको छ भने १ सय १४ घरमा आंशिक क्षती पुगेको छ ।

३२ वटा सार्वजनिक क्षेत्रमा आंशिक तथा पूर्ण रुपमा क्षति
यस्तै मनाङमा एउटा सडक, एउटा बेलिब्रिज, एउटा सामुदायिक भवन, ५ वटा झोलुंगे पुल र ४ वटा सरकारी कार्यालय पूर्ण रुपमा क्षती पूगेको छ भने एउटा आयोजनामा पनि क्षती पुगेको छ । सिन्धुपाल्चोकमा पक्की पुल ४, झोलुंगे पुल ५, माछा फर्म ७ र एउटा सशस्त्र प्रहरी बलको अस्थार्य सुरक्षा पोष्ट पनि बगाएको छ । यस्तै लमजुङमा एउटा मन्दिर र एउटा भवनमा पूर्ण क्षती पुगेको छ भने ४ वटा आयोजनामा पनि क्षति पुगेको जनाइएको छ । कास्कीमा पनि एउटा सडकमा र ४ वटा आयोजनामा क्षति पुगेको छ ।

सिन्धुपाल्चोकमा ८० जनाको सकुसल उद्धार, मनाङका प्रभावितलाई राहत पठाउने प्रयास

गृह मन्त्रालयका अनुसार सिन्धुपाल्चोकमा ८० जनाको सकुसल उद्धार गरिएको छ भने ६ जना घाइतेलाई उपचारका लागि केलिकोप्टरबाट विएण्डवी अस्पताल लतिलपुर ल्याइएको छ । थपको उद्धार कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ । त्यस स्थानमा २ सय ५० थान त्रिपाल, १ सय थान टेन्ट र ५० वटा स्लिपिङ व्याग पठाइएको छ ।

मनाङका प्रभावितलाई हेलीकोप्टरमार्फत राहत सामग्री पठाउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रभावित जिल्लाको नासो गाउँपालिका १ को सिरनतालमा पाल टागेर बसेका छन् । यस्तै जिल्लाको तार्फाभुमि गाउँपालिकाका यार्स संकलनका लागि नमयूलेकतर्फ गएका ५० जना सम्पर्कमा रहेको र लपुलेक तर्फ गएका २० तथा कुलुङलेक तर्फ गएका ३० जना सम्पर्कमा नआएकाले उद्धा गर्नुपर्ने देखिएको जनाइएको छ । यस्तै दाङको राप्ती नदीको टापु बिचमा भैसी चराउन गएका ४ जना फसेकालाई सकुसल उद्धार गरिएको पनि स्थानीय प्रशासनले जनाएको छ ।

यस्तै कास्कीको मादी गाउँपालिका १ स्थित १८ जनाको घर पूर्णरुपमा क्षति भएकाले विस्तापित घर परिवारलाई दुधपोखरी माध्यामिक विद्यालयमा स्थानान्तरण गरिएको छ । गुल्मी र बाग्लुङमा प्रभावित व्यक्तिलाई आफन्तको घरमा स्थानान्तरण गरिएको छ । काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका ७ बस्ते वर्ष २३ का गिता शाह र देबिटारस्थित सुनकोशी नदीमा बगाएर ल्याएको सामान खोज्ने क्रममा बगाई बेपत्ता भएकोमा बिहिबार दिउसो पौने १ बजे फेला पारिएको छ ।

रुपन्देहीको मायादेवी गाउँपालिका ५ गोनाहा स्थित झोलुंगे पुलबाट कोटहीमाई गाउँपालिका २ पकडीका ६ वर्षका बालक काजु जैसवाल पुलबाट अचानक तिनाउ नदीमा खसी नदीमा बेपत्ता भएकोले खोजतसला कार्य भइरहेको पनि जनाइएको छ । म्याग्दीको अन्नपुर्ण गाँउपालिका २ भुरुङ तातोपानीमा कालीगण्डकीको बहाब बढ्न गाई प्लनवाल भत्किएर बेनी–जोमसोम सडक खण्डको २० देखि २५ किलोमिटर कटान गरेकाले १५ देखि १७ घर स्थानीय सुरक्षित स्थानमा सरेको र सिमा प्रहरी चौकी समेत स्थानान्तरणको क्रममा रहेको जनाइएको छ ।

सल्यानको शारदा नगरपालिका ६ स्थित खेतमा रोपाइ गरिरहेको अवस्थामा शारदा खोला बढ्न गई १२ जना टापुमा फसेको र प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको टोली खटिएर साँझ ७ बजे १२ जनाकै सकुशल उद्धार भएको स्थानी प्रशासनले जनाएको छ । कालिकोटको खाडाचक्र नगरपालिका ६ सेरा गाउँका ५४ वर्षका बल बहादुर बिक सडकमा हिडिरहेको अवस्थामा माथीबाट आएको पहिरोमा पुिरएपछि घटनास्थलमै मृत्यु भएको थियो । यस्तै सप्तरीको बलान बिहुल गाउँपालिका ४ बेल्ही खेतमा काम गरिहुको अन्य मानिसलाई १२ वर्षका सन्तोस भडारीले खाजा पुर्याउन जाने क्रममा खोलामा आएको बाढीले बगाएपछि बेपत्ता भएकोमा मृत अवस्थामा फेला परेका छन् । -नेपालप्रेस