Loading... आजः २०७८, १० श्रावण आईतवार

मन्त्रीले तत्काल राजीनामा दिई प्रतिपक्षीको भूमिका निर्वाह गर्न निर्देशन

सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले माओवादी नेतृत्वको सहभागी तीन जना मन्त्रीहरुलाई पदबाट राजीनामा दिई संसदीय दलको सदस्यको रुपमा भूमिका खेल्न निर्देशन दिएको छ।

शुक्रबार दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले सरकारमा सहभागी मन्त्रीहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई तत्काल पदबाट राजीनामा दिनुपर्ने निर्णय गरेको संसदीय दलका नेता कँडेलले जानकारी दिए।

दलले सम्मानित अदालतको आदेशमा संसदीय दलको सदस्यको रुपमा पुःनस्थापित गरी वैशाख १ र ४ गते दलको बैठकमा पटक-पटक बोलाउँदा पनि अनुपस्थित भई दलीय व्याख्याको आचरण विरुद्ध माओवादी नेतृत्वको सरकारमा सहभागी रहिआएकोले तत्काल तीनै जनाले राजीनामा दिई संसदीय दलको सदस्यको रुपमा भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ।

सरकारमा सहभागी भएका तीनै जनाले वैशाख ३ गते पार्टीको ह्विप उलंघन गर्दै फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। ४ गते नै उनीहरुले मन्त्रीको सपथ खाएका थिए। वैशाख १३ गते एमालेले सांसद पद खारेज गरेपछि पुनः स्वतन्त्र नागरिकको सपथ लिएका थिए। –उकेरा