एमालेको आन्तरिक द्वन्द्वका कारण कर्णालीमा चौथो पटक पनि संसद बैठक स्थगित
सुर्खेत : कर्णाली प्रदेशसभाको मंगलबारको बैठक पनि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आन्तरिक द्वन्द्वका कारण असार १ गतेयता लगातार चौथो पटक संसद बैठक स्थगित भएको हो। आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ।
प्रदेशसभाको अर्काे बैठक बिहीबार ११ बजे दिउँसो २ बजेका लागि तोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
असार १ गते बजेट भाषणपछि लगातार स्थगित हुँदै आएको बैठक सञ्चालन नहुँदा बजेटमाथिको दफावार छलफल सुरु हुन सकेको छैन।
एमालेले प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापालाई पदमुक्त गर्नुपर्ने माग गरी संसद अवरुद्ध गर्दै आएको छ।
गत वैशाख ३ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउने एमालेका सांसद प्रकाश ज्वालासहित बुढा, शाही र थापालाई पार्टीले कारबाही गरेको थियो। कारबाहीपछि पद गुमाएका तीन जनालाई मुख्यमन्त्री शाहीले स्वतन्त्र नागरिकका रूपमा मन्त्री नियुक्त गरेका थिए।
एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमतिमा संसद बैठक स्थगित गरिएको दाबी गरे। एमालेबाट मन्त्री बनेका तीन जनालाई मन्त्रीबाट पदमुक्त नहुँदासम्म संसद चल्न नसक्ने उनले बताए।
सरकारले बजेट किताव तयार नगरेकाले पनि संसद बैठक स्थगित भएको उनको भनाइ छ।





