लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस आज मनाइँदै
काठमाण्डौ- आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको महासभाबाट सन् १९८७ मा घोषणा भइ हरेक वर्ष जुन २६ मा विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त बनाउने उद्देश्यका साथ दिवस मनाउने गरिन्छ ।नेपालमा यस वर्ष लागुऔषधरहित परिवार स्वस्थ जीवनको आधार भन्ने नारा तय गरिएको छ । संयुक्त राष्ट्र सङ्घको विश्व लागुऔषध प्रतिवेदन २०२१ ले वर्षेनि लागुऔषध प्रयोगकर्ता बढ्दै गएको देखाएको छ । त्यस्तै नेपालमा एक लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ ले नेपालमा वार्षिक वृद्धिदर ५ दशमलव ०६ प्रतिशत रहेको आकंलन गरिको छ । लागुऔषधका प्रयोगकर्ता तथा कारोबारमा युवा वर्ग संलग्न भएको तथ्याङ्क रहेको छ । दिवसका अवसरमा शुभकामना दिँदै गृहमन्त्री विष्णुप्रसाद पौडेलले दुर्व्यसनमा युवा, किशोर किशोरीको सङ्ख्या बढ्दै जानु चिन्ताको विषय रहेको बताउनुभएको छ ।