Loading... आजः २०८१, ३० भाद्र आईतवार

भाडादर बढाएर आन्तरिक उडान खोलिने

काठमाडौं -निजी वायुसेवा सञ्‍चालक संघले १७ असारबाट भाडा बढाएर आन्तरिक उडान सञ्चालन गर्ने भएको छ। हवाई इन्धनको मूल्य बढेकाले मूल्य समायोजन गरी साबिकको भाडाभन्दा केही बढाइने संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए।उडान भर्दा जहाजको पूरै सिट यात्रु राखेर उडान भरिने भएको छ। वायुसेवा संघले मूल्य समायोजनको विषय बाहिर–बाहिर आएको सुने पनि मन्त्रालयमा समायोजनको प्रस्ताव आइनसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नागरिक उड्डयन तथा हवाई महाशाखाका सह–सचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।

उनका अनुसार विगतमा सस्तो दरमा पनि उडान भरेका थिए।मूल्य समायोजनका सिलिङ तयार गरेर राख्‍न पाउने तर कार्यान्वयन गर्न सरकारको सहमति आवश्यक पर्ने लामिछानेले औंल्याए। सरकारले मूल्य समायोजनको सहमति नदिई उडान भर्न नपाउने उनको भनाइ छ। के कति प्रतिशतका दरले भाडा बढ्ने भन्‍ने निर्णय हुन बाँकी रहेको बताइएको छ।

यसअघि सरकारले कोभिड–१९ को दोस्रो लहर फैलिएपछि वैशाख २३ गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो। जनस्वास्थ्यका मापदण्ड अपनाएर असार १७ गतेबाट आन्तरिक उडान सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ।नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्री एयरलायन्स, यति एयरलायन्स, सौर्य एयरलायन्स, सीता एयर, तार एयर र समिट एयरलाई उडान तालिका पेश गर्न पनि अनुरोध गरिसकेको छ।थाहाखबर