कर्णालीमा सुन अभाव,१६ करोडको कारोबार रोकियो
सुर्खेत- कर्णाली प्रदेशमा सुनको अभाव हुँदै गएको छ। राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो।प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी संघ कर्णाली प्रदेशले बताएको छ। लकडाउनको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परेको संघका कर्णाली प्रदेश अध्यक्ष जनक सुनारले बताए।
‘दुई महिनाको बन्दले एकातिर व्यवसाय पूर्णरूपमा बन्द छ भने अर्कोतिर नेपाल राष्ट्र बैंकबाट उपलब्ध हुने सुन समानुपातिक ढंगले वितरण हुँदैन,’ उनले भने, ‘यसले गर्दा यो दुई महिनको अवधिमा १६ करोड रुपैयाँको कारोबार हुन सकेन।’अध्यक्ष सुनारका अनुसार नेपाल राष्ट्र बैंकले नेपाल सुनचाँदी व्यवसायी महासंघलाई दैनिक २० किलो सुन उपलब्ध गराउँदै आएकोमा रत्न आभूषण तथा पत्थर व्यवसायी महासंघलाई ४० प्रतिशत र सुनचाँदी व्यवसायी महासंघलाई ६० प्रतिशत छुट्याउने गरिएको छ।
सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी वितरण कार्यविधि, २०६८ का आधारमा त्यो ६० प्रतिशतलाई १०० प्रतिशत मानेर ६० प्रतिशत काठमाडौं उपत्यका र ४० प्रतिशत बाहिर पठाउने गर्छ।चालिस प्रतिशत सुन उपत्यकाबाहिरका महासंघमा आबद्ध ४०–४५ जिल्लाका व्यवसायी संघलाई पठाउँदा मागअनुसारको पूर्ति हुन नसकेको अध्यक्ष सुनारले बताए। ‘कर्णालीमा करिब १० किलो सुन आवश्यक पर्दछ, तर मासिक एकदेखि तीन किलो सुन आउने गरेको छ,’ उलने भने, ‘यसले सुन वितरण प्रणालीमा विभेदीकरण बढ्दै गएको छ।
यो अवस्था हटाउन सातै प्रदेशस्थित संघका अध्यक्षहरुले स्थायी लेखा नम्बरका आधारमा सुन वितरण माग राख्दै आएका छौं।’सरकारले महासंघलाई दैनिक ४०÷५० किलो सुन उपलब्ध गराउनुपर्नेमा जोड दिनुपर्ने उनको भनाइ छ।