Loading... आजः २०८३, २७ जेष्ठ बुधबार

सर्वोच्चमा ‘बोक्सीको आरोप’ सहितका ५० भन्दा धेरै मुद्दा पेशी चढे

काठमाडौँ : सर्वोच्च अदालतले निषेधाज्ञाका कारण रोकिएका थुनुवाको पुनरावेदन र हेर्दाहेर्दैमा रहेका मुद्दाहरुको सुनुवाइ सुरु गरेको छ।कोरोना भाइरस सङ्क्रमणबाट बच्न वैशाख १४ गते निर्णयपछि रोकिएका मध्ये थुनुवाको पुनरावेदन र हेर्दाहेर्दैमा रहेका मुद्दाहरुको सुनुवाइ सुरु भएको सर्वोच्च अदालतले जनाएको छ।

स्थगन सेवा सुरु गरेकै दिन अदालतले ५० भन्दा धेरै मुद्दाको पेशी तोकेको छ। चेक अनादर, सवारी ज्यान, लेनदेन, करणी गर्ने उद्योग, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान, बोक्सीको आरोप, ठगी तथा सङ्गठित अपराध मुद्दा पेशीमा चढेको छ।

यस्तै मूल्य अभिवृद्धि कर, आय कर, बढी महसुल निर्धारण, अग्रिम कर कट्टी, वैदेशिक रोजगार कसुर, अपुताली हक कायम दर्ता, मोही दाखिला खारेज, हक कायम, लुटपिट, लिखित बदर, बन अतिक्रमण समेतका मुद्दा अदालतको पेशीमा चढेका छन्।

पेशीमा चढेका मुद्दामा मानव बेचबिखन तथा ओसार पसार, सेप्टी ट्याङकीमा परी गैँडा मरेको लगायतका छन्।

अदालतका अनुसार कोरोना भाइरस सङ्क्रमणको जोखिमको आङ्कलन एवं सुरक्षासम्बन्धी निर्धारित मापदण्डहरूको पूर्णपालना हुने गरी थप दुई सेवालाई असार ३१ गतेसम्म निरन्तरता दिइने छ।

उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधिकरणहरुको काम कारबाही तथा सेवा प्रवाह एवं हदम्याद, म्याद र तारेखसमेतका विषयको सुनुवाइ नहुने सर्वोच्चले जनाएको छ।

वैशाख १४ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ गर्ने निर्णय गरेको थियो। उसले सो बाहेकका अन्य कामकारबाही र सेवा स्थगन गरेको थियो।

काम कारबाही तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा, रिट तथा निवेदनहरूमा रहेका हदम्याद, म्याद, तारेख नगुज्रने भन्दै वैशाख ३१ गते पूर्ण बैठक बस्ने निर्णय सर्वोच्च अदालतले गरेको थियो।

समाचार

सम्बन्धित समाचार