Loading... आजः २०७८, १० श्रावण आईतवार

एक सातायता कोरोना संक्रमितको संख्यामा वृद्धि

काठमाडौं – पछिल्लो एक साता कोरोना संक्रमितको संख्या अपेक्षित रुपमा नघट्दा महामारीको जोखिम कायमै देखिएको छ ।
असार पहिलो साता संक्रमितको संख्या लगातार घटे पनि दोस्रो सातादेखि संक्रमितको संख्या सामान्य दरमा बढिरहेको देखिएको छ ।

असार ११ गते २ हजार ४७६ जनामा संक्रमण पुष्टि हुँदा संक्रमणदर १७ प्रतिशतमा झरेकामा त्यसपछि लगातार बढेर बिहीबार संक्रमित संख्या २ हजार ७६० पुगेको छ र संक्रमणदर २५ प्रतिशत भन्दा माथि पुगेको छ ।

काठमाडौं उपत्यकासहित देशभर निषेधाज्ञा खुकुलो बनाएका बेला फेरि संक्रमण दर बढेपछि महामारी फैलिने त्रास बढेको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सबैभन्दा थोरै संक्रमण असार १३ गते देखिएको छ ।

त्यस दिन ९,८३६ परीक्षणमा १,९२० जनामा संक्रमण देखिएको थियो र संक्रमणदर जम्मा १९ प्रतिशत थियो । असार १४ गते भने संक्रमित संख्या झण्डै ५०० जना थपिएर २,४४४ पुग्यो र संक्रमण दर पनि २२ प्रतिशत पुग्यो ।
दुई साता हेर्नुपर्छ स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले संक्रमण दर स्थिर नै रहेको बताउँछन् ।
केही दिनयता संक्रमितको संख्या केही बढेको देखिए पनि संक्रमण कुन अवस्थामा छ भनेर पत्ता लगाउन अझै दुई हप्ता पर्खनुपर्ने उनी बताउँछन् ।

‘संक्रमण घट्दै छ कि बढ्दै छ भन्नलाई अबको दुई हप्ताको तथ्यांक पर्खनुपर्छ होला । निषेधाज्ञा पनि खुकुलो भयो । सार्वजनिक बस पनि चलेको छ । अबको दुई हप्ताले जुन तथ्यांक देखाउँछ त्यसले हामी कता छौं भन्ने स्पष्ट दिशा दिन सक्छ’ डा पौडेलले भने ।
परीक्षण कम हुँदा पनि संक्रमण दर उस्तै देखिनुले अझै पनि जोखिम कायमै रहेको उनले बताए ।

एन्टिजेन परीक्षणको रिपोर्टले संक्रमण दरलाई तलमाथि पारेको पौडेलको भनाइ छ ।
काठमाडौं उपत्यका लगायत केही जिल्लामा निषेधाज्ञा खुकुलो बन्दै गएका कारण जनस्वास्थ्यको मापदण्ड पालनामा हेलचेक्र्याइँ भए संक्रमण बढ्ने जोखिम रहेको उनले बताए ।अनलाईन खबर