Loading... आजः २०८२, २२ फाल्गुन शुक्रबार

कर्णालीमा फ्लोरक्रस गरेका एमालेका मन्त्री सहमति कार्यान्वयनको पर्खाइमा

सुर्खेत– नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलले सहमतिको ड्राफ्ट तयार पारेपछि कर्णालीको राजनीति तरंगित छ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवाद विष्फोटन (फ्लोरक्रस) भएको कर्णालीमा सहमतिको ड्राफ्टलाई कसरी कार्यान्वयनमा लिइन्छ भनेर आमचासोका रुपमा लिइएको छ। किनकी सहमतिको ड्राफ्ट कार्यान्वयन हुँदा त्यसको पहिलो साइड इफेक्ट कर्णालीमा पर्नेछ। व्यवहारमै एमाले एकठाउँमा उभिए वर्तमान कर्णाली सरकार ढल्नेछ। फ्लोरक्रस गरेर सरकारमा सहभागी भएका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पदबाट राजीनामा गर्नुपर्नेछ।

तीन मन्त्रीको राजीनामापछि वर्तमान सरकारले विश्वासको मत गुमाउनेछ। अनि एमालेले कर्णालीमा एकल बहुमतको सरकार गठन गर्नेछ। यही कारण अब कर्णालीमा एमालेका मन्त्रीहरु कहिले बाहिरिन्छन्  भन्ने प्रश्न सबैको चासोको विषय बनेको छ। हामीले यही प्रश्न एमालेका मन्त्रीलाई सोध्दा आफूहरु सहमतिको व्यावहारिक कार्यान्वयन कुरिरहेको बताएका छन्।

‘सहमतिको ड्राफ्ट त आएको छ तर कार्यान्वयनमा लैजानेगरी हस्ताक्षर भएको छैन,’ मन्त्री अम्मरबहादुर थापाले नेपाल समयसँग भने, ‘हामी त माथिकै निर्णयको कार्यान्वयन कुरिरहेका छौँ, सहमति कार्यान्वयन भए त्यही अनुसार अगाडि बढौंला।’ सहमतिको ड्राफ्ट कार्यान्वयनमा नजाँदासम्म राजीनामा दिन हतार नगर्ने उनको तर्क छ। एमालेलाई एक बनाउन दबाब दिनकै लागि फ्लोरक्रस गरेको भन्दै पार्टीकै सहमति विपरीत अगाडि नबढ्ने उनले बताए।

त्यस्तै मन्त्री कुर्मराज शाहीले पनि केन्द्रबाट आधिकारिक निर्णय आएपछि मात्रै सरकारबाट कहिले बाहिरिने भनेर निर्णय लिइने बताए। ‘पार्टी एकढिक्का हुन्छ भने राजीनामा गर्न केको अप्ठेरो भयो र ?’ उनले भने, ‘दुई पक्षको हस्ताक्षरसहितको आधिकारिक निर्णय आएपछि त्यसबारे सोचौँला।’ उनले पनि फ्लोरक्रस गर्नुको उद्देश्य पार्टी एकतालाई दबाब दिनु रहेको जिकिर गरे। ‘एमालेलाई फुटबाट बचाउन दबाब दिने उद्देश्यले फ्लोरक्रस गरेका थियौँ, कतिपयले यसलाई अपव्याख्या गरे,’ मन्त्री शाहीले भने, ‘नेताहरु एकठाउँमा उभिने सहमति भएको छ, यसको अक्षरशः कार्यान्वयन भए पार्टीकै निर्णय अनुसार अगाडि बढ्छौँ।’

पदका लागि राजनीति नगरेको जिकिर गर्दै उनले नेतृत्व तहले आमकार्यकर्ताको भावनालाई बुझेर सहमतिको कार्यान्वयन गर्नुपर्ने बताए। ‘जीवनभर राजनीति गर्ने मान्छेले पद होइन, राजनीतिक भविष्य हेरेको हुन्छ,’ उनले भने, ‘नेतृत्वका कारण एमालेको भविष्य विगार्न थालेपछि दुबै पक्षलाई मिल्न दबाब होस् भनेर फ्लोरक्रस गरेका थियौँ।’ एमालेलाई एक ढिक्का बनाउने पहिले नेतृत्व तहबाटै सहमति कार्यान्वयन थालनी गर्नुपर्नेमा उनले जोड दिए।

अर्का मन्त्री बुढाले सहमतिको ड्राफ्टले आधिकारिकता पाएपछि मात्रै सरकारबाट कहिले बाहिरिने भनेर सोचिने बताए। ‘अहिले त सहमतिको एउटा खाका मात्रै तयार भएको हो, कार्यान्वयन भएको हेर्न त बाँकी नै छ नि?’ उनले भने, ‘माथिबाट सहमतिको कार्यान्वयन जसरी गर्छन्, हामी पनि त्यही अनुसार अगाडि बढ्छौँ।’ उनले पनि नेताहरुले सहमतिको प्रयास गर्लान् भनेर नै फ्लोरक्रस गरेको जिकिर गरे।