Loading... आजः २०७८, १० श्रावण आईतवार

कर्णाली प्रदेश सरकारको ६५ प्रतिशत रकम खर्च

सुर्खेत । कर्णाली प्रदेश सरकारले गत आर्थिक २०७७/०७८ मा ६५ प्रतिशत बजेट खर्च गरेको छ । जसमा पुँजीगत तर्फको ७०.६३ र चालु तर्फको ५७.८७ प्रतिशत बजेट खर्च भएको हो ।

३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार कुल बजेट विनियोजन गरेकोमा २१ अर्ब ९६ करोड २ लाख रुपैँया खर्च गरेको हो । पूँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख र चालुतर्फ १४ अर्ब ६७ करोड २२ लाख रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको थियो ।

प्रदेश सरकारले गत आर्थिक वर्षको तुलनामा ३२.४४ प्रतिशत बढी रकम खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार असार महिनामा मात्र प्रदेश सरकारले १२ अर्ब २५ करोड १० लाख रुपैयाँ खर्च गरेको छ ।

विगतका आर्थिक वर्षहरुभन्दा कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी खर्च गरेको छ ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७४÷०७५ को कुल विनियोजित बजेट १ अर्ब २ करोड ५ लाख रुपैयाँमध्ये ७ करोड ५७ लाख ५२ हजार ३०४ रुपैयाँ खर्च गरेको थियो । यो खर्च कुल बजेटको ७.४२ प्रतिशत खर्च गरेको थियो ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट ल्याएको थियो । आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्म कुल बजेटको ३४ प्रतिशत खर्च भएको थियो ।

कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा ३४ अर्ब ३५ करोडको बजेटमध्ये १६ अर्ब ३६ करोड बजेट ल्याएको थियो । त्यसमध्ये ४७.६५ प्रतिशत खर्च गरेको थियो ।