Loading... आजः २०७८, ४ आश्विन सोमबार

मन्त्रालयको चरम लापरबाही, पीडितलाई राहतको साटो फाइल नै गायब

सुर्खेत : नेपालीमा समाजमा एउटा लोक उक्ति छ, ‘सरकारी काम, कहिले जाला घाम !’ खासगरी सरकारी कर्मचारीले सेवाको भाव भन्दा पनि काम नगर्ने, अफिस समय जसरी तसरी घर्काउने, अनि तलब भत्ता पचाउने गर्छन् भन्ने आरोप जनस्तरमा अहिले पनि छ ।

सरकारले जति सुशासन र जनसेवाका नारा लगाए पनि आखिर नागरिकले सरकारी सेवा लिनका लागि अहिले पनि अनेक झमेलाको सामना गर्नु परिरहेको छ ।

बिहीबार कर्णाली प्रदेशको आन्तरिक मामिला मन्त्रालयको विपद् व्यवस्थापन शाखाका कर्मचारी र केही सेवाग्राही फाइलका पोका पन्तुरा खोतलिरहेका थिए ।

शाखामा भएका सबै फाइल राखिएका पोका पन्तुरा र दराजका सबै पोका पन्तुरा खोतल्दा पनि खोजेको फाइल भेटिएन । फाईल खोज्न सहयोग गर्न सूचना प्रविधि शाखा प्रमुख पनि पुगेका थिए ।

मन्त्रालयको विपद् व्यवस्थापन शाखाका सबै फाइल राखेका ठाँउ खोतल्दा पनि खोजेको फाइल नभेटिएपछि प्रशासन शाखामा रहेका फाइलका पोका तथा दराजहरु पनि खोतलियो । तर, फाइलको अत्तोपत्तो लागेन ।

सो फाइलको रेकर्ड हेर्दा दर्ता रजिष्ट्ररमा विसं २०७७ मसिर ८ गते ३७७ नम्बरमा फाइल दर्ता भएको देखिन्छ । तर, फाइल लापत्ता भएको छ । दर्ता कसले गरेको हो र फाइल कसले बुझेको हो भन्ने कुरा थाहा नै छैन । फाइल बुझ्ने कर्मचारीले हस्ताक्षर नै गरेका छैनन् ।

राहतको आशा लिएर मन्त्रालयमा निवेदन दिएका पीडित नागरिकको घाउमा मल्हम लगाउनुको साटो मन्त्रालयलयबाटै फाईल नै गायब भएपछि सरकारी निकाय तथा कर्मचारीको लापरबाही छरपस्ट भएको छ ।

यसले सरकारी कार्यालयमा जनताको सेवा भन्दा पनि जनतालाई दुःख दिने काम बढी हुन्छ भन्ने कुराको पुष्टि भएको छ ।

फाइल हराउने पीडित दैलेख जिल्ला महाबु गाँउपालिका वडा नम्बर १ खरीगैराका गोरे कामी भनिने सर्वजित कामी हुन् । खरीगैरामा उनले आफ्नो परम्परादेखि बाउबाजेले गर्दै आएको पेशालाई केही आधुनिकरण गरेका थिए ।

उनले फर्निचर उद्योग, तथा कृषिका घरेलु हातहतियार बनाउने काम गरेर घरपरिवार पालिरहेका थिए । तर, गतवर्ष परेको अविरल वर्षामा सर्वजितको घर भत्कियो । घर भत्किँनुका साथै फर्किचर उद्योगमा पनि आगलागी भयो ।

‘मेरो फर्निचर उद्योग, घरेलु कृषि औजारको उद्योग, आरन थियो, वर्षाले मेरो घर भत्कियो,’ उनले भने, ‘घर भत्किएपछि बिजुलीका तार जुधेर होला, आगलागी पनि भयो । जुझेर होला, आगालागी पनि भयो, जेनेरेटर, फ्रिज, फर्निचर, फर्निचर बनाउने समान, औजार मेसिन, मोटरहरु सबै नष्ट भयो ।’

उनले करिब २० लाखको हाराहारीमा क्षति भएको बताए । राहतका लागि सर्वजितले मिहेनत गरी बनाएको फाइल मन्त्रालयबाटै हराएपछि उनी दुःखी छन् ।

‘मैले करिब एक हप्ता लगाएर फाइल बनाएको हुँ, फाइल बनाएर मन्त्रालयमा दर्ता गराएपछि मलाई दर्ता नम्बर पनि दिएका थिए, मलाई पछि फोन गरेर बोलाउँला भनेका थिए’, उनले भने, ‘यो सरकार भन्ने चिज हामी दुःखी गरिब, निमुखाको रहेनछ भन्ने मेरो आत्माले चिताइसक्यो ।’

उनले अघि भने, ‘अहिले फेरि बाँसले घेरबार गरेर काम सुरु गरेको छु, केही धन्दा गरेर बालबच्चा पाल्नु त पर्यो ।’

मन्त्रालयका सूचना अधिकारी तथा विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्ण रोकायले भने फाइल कसरी कता हरायो भन्ने कुनै पत्ता लाग्न नसकेको र खोजी कार्य जारी रहेको बताए ।

‘दर्ता गरेपछि हाम्रो शाखामा फाइल नआएको पनि हुन सक्छ । दर्ता भएको देखिएको छ, तर फाइल हाम्रो शाखा सम्म आए नआएको केही थाहा भएन’, उनले भने, ‘नआएको पनि हुन सक्छ, हामीसँग भएका फाइल यीनै हुन्, त्यो फाइल यहा छैन ।’

यो त एउटा प्रतिनिधि घटना मात्र नै हो । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन शाखामा विपदमा परेर राहतका लागि पेश भएका फाइल उपर कारबाही नै भएको देखिँदैन ।

मन्त्रालयका एक कर्मचारीले नै प्रश्न गरे , ‘२०७१ साल देखिका निवेदनमाथि नै कुनै कारबाही भएको छैन । सरकारका काम कसरी हुन्छन्, अनि देशको उन्नती कसरी हुन्छ ?’