कोरोना संक्रमितको थप उपचार सुर्खेत
अमर सुनार
दैलेख : उपचारमा लापरवाही भएको भन्ने व्यापक जनदवावपछि सदरमुकाममा राखिएका कर्णालीका पहिला कोरोना संक्रमित युवकलाई प्रदेश कोरोना अस्पताल कर्णाली प्रदेश अस्पतालमा सुर्खेत लगिएको छ ।
आइसुलेसन वार्डबाट सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड इञ्चार्ज थीरप्रसाद रेग्मीले जानकारी दिए ।
जेठ १ गते लक्ष्मी मावि सात्तलास्थित क्वारेण्टीनमा पीसीआर परीक्षणमा कोेरोना पुष्टि भएपछि मंगलवार सदरमुकामको सरस्वती मावि तर्ताङ्गस्थित आइसुलेसन वार्डमा राखिएका आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय ती युवक चौथो दिन सुर्खेत लगिएको हो ।
भेण्टीलेटर सहित उपकरण हुनुपर्ने मापदण्ड पूरा नगरेको नाम मात्रको आइसुलेसन वार्डमा आकस्मिक उपचार गर्नुपरे समस्या हुने भन्दै जनप्रतिनिधिहरु, राजनीतिक नेतृत्व र नागरिक समाजको चौतर्फी दवाव भएपछि शुक्रवार सुर्खेत पठाइएको हो ।
कर्णालीकै पहिलो संक्रमितलाई उपचारमा लापरवाही भइरहेको भन्दै प्रतिनिधिसभाका सदस्य पार्वती बिशुन्केले शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटी आग्रहपछि मन्त्रीको निर्देशनमा ती संक्रमितलाई दैलेखबाट सुर्खेत पठाइएको हो । विरामीको उपचारको लागि यति धेरै पापड पेल्नुपरेको साँसद बिशुन्केले प्रतिक्रिया दिइन्।
यसैबीच स्वास्थ्य सेवा कार्यालय दैलेखले शुक्रवार नारायण नगरपालिका र डुङ्गेश्वर गाउँपालिकाका तीन सय जनामा गरेको आडीटी परीक्षणमा ६ जनाको पोेजेटिभ आएको तर पीसीआर रिपोर्ट प्राप्त भएपछि मात्र कोरोना संक्रमणको पुष्टि हुन सक्ने स्वास्थ्य सेवा कार्यालयका जनाएको छ ।




