समाजमा लुकेका घटना सार्वजनिक भए अपराध नियन्त्रणमा सहयोग पुग्छः न्यायाधीश
दैलेखः दैलेख जिल्ला अदालतका न्यायाधीश दण्डपाणी लामिछानेले समाज लुकेको सबै घटना सार्वजनिक हुन सके अपराध नियन्त्रणमा सहयोग पुग्ने बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मंगलवार नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सन् २०२१ जनवरीदेखि संकलन गरेको मानव अधिकार हनन् तथा ज्यादतीका घटना सम्वन्धी वार्षिक पूर्वसमीक्षा कार्यक्रममा बोल्दै उनले सो विचार रराखेका हुन् ।
न्यायाधीश लामिछानेले चेतनाको अभावमा समाजमा व्याप्त घरेलु हिंसा रोकथाम गर्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने भएको औल्याउदै स्थानीय सरकारको अग्रसरता जरुरी रहेको बताए ।
जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले न्यायिक प्रक्रियमा गइसकेका घटनाहरुमा पनि आरोपितहरुको परिवारहरुलाई हतोत्साहित पार्ने गलत प्रबृति बिरुद्ध सञ्चार माध्ययमहरुले बोल्नुपर्ने आवश्यकता दर्शाए । डीएसपी भुवनेश्वर साहले इन्सेकले संकलन गर्ने तथ्यांक सरकारका निकायसंग भरपर्दो तरिकाले पुनःपरीक्षण गरेर मात्र प्रकाशन गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा महिला तथा बालबालिका सेवा केन्द्रका कार्यक्रम संयोजक रमा श्रेष्ठले अपराध पीडितहरुलाई होष्टाइल गराउने परम्परा बसेको कारण पीडितहरु थप पीडित हुने गरेको दुखेसो पोखिन ।
नेकपा एकीकृत समाजवादीका सचिव मानबहादुर खड्काले अपराधीलाई बचाऊ गर्ने राजनीतिक संस्कारलाई निरुत्साहित गर्न नागरिक समाजले अगुवाई गर्न आग्रह गरे ।
दैलेख उद्योग बाणिज्य संघका महासचिव राजेश हमालले भोकै बस्नु परेका, औषधि नपाएको, बालबालिकाका जन्मदर्ता नपाएका घटनाहरु पनि समेट्नुपर्ने सुझाव राखे ।
मानव अधिकार रक्षक सञ्जालका संयोजक बिशाल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालयका जिल्ला सहायक न्यायाधिवक्ता रुक्मेडा पोखरेल, पत्रकार अभिसेक अनुराग लगायतले सुझावहरु राखेका थिए ।
पूर्वसमीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन् २०२१ जनवरीदेखि संकलन गरिएका मानव अधिकार हनन् तथा ज्यादतीका ९९ वटा घटनाहरु जानकारी गराउनु भएको थियो ।
दैलेखमा सबै भन्दा धेरै २८ वटा बलात्कार, १७ वटा बहुविवाह, ११ वटा हत्या, ११ जना अमानवीय व्यवहार, १० वटा जटिल प्रकारका घरेलु हिंसा, ७ वटा यौन दुव्र्यवहार, ६ वटा बालविवाह, ३ वटा आत्महत्या दुरुत्साहन, ३ वटा जातीय विभेद, २ वटा ज्यानमार्ने उद्योग र एउटा मानव बेचविखन घटना समेत ९९ वटा घटना संकलन गरेको इन्सेकले जनाएको छ ।