जाहेरी दिएका २०मध्ये १२ पक्राउ नेपाल
जाजरकाेटः रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका पीडित परिवारले २० जनाविरुद्ध किटानी जाहेरी दिएकामध्ये १२ जना पक्राउ परेका छन् ।
अन्तरजातीय सम्बन्धलाई लिएर जेठ १० गते भएको घटनाका पीडित परिवारले किटानी जोहरी गरेका २० जनामध्ये १२ जनालाई पक्राउ गरिएकाे र अन्य आठ जनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।
उनले वडाध्यक्ष डम्मरबहादुर मल्ल, डिल्ली मल्ल, वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोष मल्ल, मोहन पुन मगर, रमेशबहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी र १७ वर्षीया एक किशोरीलाई पक्राउ गरिएको बताए । पक्राउ परेका सबैलाई १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ ।
जेठ १० गते शनिबार साँझ सोती पुगेका १८ युवाको समूहलाई गाउँलेले लखेट्दा तीन जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन् । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढामगर र चौरजहारी नगरपालिका–१ का टीकाराम नेपालीको शव भेरी नदीमा भेटिएको थियो । घटनमा भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं ४ का सञ्जु विक बेपत्ता छन् ।
बेपत्ता तीनै जनाको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ । खोजीमा सशस्त्र प्रहरीका तीन गोताखोर र सहयोगीसहित सातजनाको टोलीले भेरी नदीमा खोजी गरिरहेको प्रहरीले बताएको छ । पीडित पक्षले भने जाजरकोट प्रहरीमा उजुरी दिएका हुन् ।




