कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकामा १ लाख नाघ्यो
अमेरिकामा कोरोना भाइरसको संक्रमणमा मृत्यु हुनेको संख्या १ लाख नाघेको छ। महामारी सुरू भएको चार महिनाभन्दा कम अवधिमा यो संख्या रेकर्ड भएको हो।
यो संख्या भाइरसका कारण विश्वका अन्य कुनै मुलुकमा भएको मृत्यु भन्दा सर्वाधिक हो।
यसैगरी संक्रमित संख्यामा पनि अमेरिका पहिलो नम्बरमा नै रहेको छ। हालसम्म त्यहाँ करिब १७ लाख मानिसमा संक्रमण पुष्टि भइसकेको छ। यो संख्या विश्वका कुल संक्रमितको ३० प्रतिशत हुन आउँछ।
अमेरिकाको वासिङ्टन राज्यमा जनवरी २१ मा कोरोनाका पहिलो कोरोना संक्रमित फेला परेका थिए।
पछिल्लो विश्व विवरण अनुसार संसारमा हालसम्म ५६ लाख मानिसहरूमा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ३ लाख ५४ हजार ९ सय ८३ जनाको मृत्यु भएको बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ।
गत वर्षको अन्तिममा चीनको वुहानबाट कोरोना महामारी सुरू भएको थियो।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट हालसम्म १ लाख २ सय ७६ जना अमेरिकीहरूको ज्यान गइसकेको छ।
बिबिसीका अनुसार अमेरिकाका २० राज्यहरूले यो साता संक्रमित संख्यामा वृद्धि देखिएको बताएका छन्।
यसैगरी कोरोनाबाट सर्वाधिक प्रभावित राज्यहरूमा हाल भाइरसका कारण हुने मृत्युमा कमी देखिएको बिबिसीले जनाएको छ।
अमेरिकामा कोरोनाबाट सबैभन्दा बढी मृत्यु न्यू योर्क राज्यमा भएको छ। त्यहाँ २१ हजार मानिसहरूको कोरोनाका कारण मृत्यु भएको छ।








