समयावधी सकिएपछि ठेक्का सम्झौता
दैलेख : जिल्लाको नारायण नगरपालिकाले समयावधी सकिएपछि एक निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको छ ।
नगरपालिकाले भवन निर्माणको ठेक्का पाएका एक निर्माण कम्पनीलाई सम्झौता गर्न आउन पत्राचार गरेको समयसिमा नाघिसकेपछि समेत सम्झौता गरेको पाईएको छ । नगरपालिकाले नारायण नगरपालिका वडा नम्बर १, ६ र ९ को आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि २०७६ चैत्र १७ गते टेन्डरको सूचना प्रकाशन गरेको थियो ।
टेन्टर आह्वानसँगै विद्युतीय खरीद प्रणालीबाट टेन्टर फर्म दर्ता भएका थिए । दर्ता भएका टेन्डरहरुको मुल्यांकनका आधारमा निर्माण कम्पनी छनौट गरी नगरपालिकाले २०७७ जेठ १३ गते छनौटमा परेका निर्माण कम्पनीलाई तीन वटा स्वास्थ्य केन्द्रका भवन निर्माणका लागि १५ दिनभित्र सम्झौता गर्न आउन पत्राचार गरेको थियो ।
वडा नम्बर ६ र ९ को तोकिएकै मितिमा ठेक्का सम्झौता भयो । वडा नम्बर १ को आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माणको ठेक्का सम्झौता भने तोकिएको समयावधी भित्र हुन सकेन् । तर, तोकिएको समय भन्दा ८ दिन ढिला गरि ठेक्का सम्झौता गरिएको छ ।
वडा नम्बर १ को आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीसँग नगरपालिकाले आठ दिनपछि बिहिवार ठेक्का सम्झौता भएको पाईएको छ । उक्त निर्माण कम्पनीसँग बिहिवार (२०७७ असार ४ गते) ठेक्का सम्झौता गरिएको इन्जिनियर हिक्मत रोकायले बताए । सार्वजनिक खरिद ऐनमा तोकिएको समयसिमाभित्र ठेक्का सम्झौता गर्न नआउने कम्पनीको जमानत धरौटी जफत गरी कालो सूचीमा राखिने प्रावधान छ ।
तर नगरपालिकाले उक्त प्रावधान विपरित म्याद नाघेर आएको कम्पनीसँग ठेक्का सम्झौता गरेको हो । सम्झौता गर्न आउने म्याद नाघिसकेको भवन निर्माण कार्यको बारेमा प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसमक्ष पटक पटक जानकारी गराउँदा समेत वेवास्ता गरेको एक निर्माण व्यवसायीले बताए ।




