Loading... आजः २०८१, ५ कार्तिक सोमबार

फेसबुक र गुगलका कर्मचारीले वर्षभरी नै घरबाट काम गर्ने

कोरोना भाइरस महामारीको त्रासका बीच विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरु गुगल र फेसबुकले आफ्ना अधिकांस कर्मचारीहरुलाई घरबाटै काम गराइरहेका छन् । घरबाटै कार्यालयको काम गरिरहेका गुगल र फेसबुकका कर्मचारीहरुले अझै लामो समयसम्म घरबाटै काम गर्नुपर्ने भएको छ ।

समाचार अनुसार गुगल र फेसबुकले आफ्ना कर्मचारीहरुलाई चालु वर्ष सन् २०२० भर नै घरबाटै अफिसको काम गर्न अनुमति दिने भएका छन् ।

फेसबुक प्रवक्ताका अनुसार आगामी जुलाई ६ यता फेसबुकका कुनै पनि कार्यालय खोलिने छाँटकाँट छैन । त्यसैले यो वर्षभरी नै अधिकांस कर्मचारीहरुले घरबाटै काम गर्न सक्नेगरी व्यवस्था गरिनेछ ।

फेसबुकका कर्मचारीहरुले गत मार्च महिनादेखि घरबाटै काम गरिरहेका छन् ।

फेसबुक सीईओ मार्क जुकरबर्गका अनुसार आगामी सन् २०२१ को जुन महिनासम्मै ५० जनाभन्दा धेरै मानिसहरु जम्मा हुने खालका कुनै पनि कार्यक्रमको आयोजना गरिने छैन ।

उता सबैभन्दा ठूलो प्रविधि कम्पनी गुगलले पनि घरबाटै काम गर्न सकिने अवधिलाई चालु वर्षभरका लागि लम्ब्याएको छ । यसअघि गुगलले आगामी जुन १ सम्मका लागि घरबाट काम गर्न सकिने व्यवस्था गरेको थियो ।

गुगलका सीईओ सुन्दर पिचाइका अनुसार भौतिक उपस्थिति अनिवार्य रहेका कर्मचारीहरुलाई मात्र आगामी जुन वा जुलाई पछि कार्यालयमा आउने अनुमति दिइनेछ र त्यसक्रममा समेत उच्चतम सावधानी तथा सुरक्षाका विधि अपनाइनेछ । गुगलले पनि गत मार्च महिनादेखि आफ्ना कर्मचारीलाई घरबाटै काम लगाएको थियो । एजेन्सी