Loading... आजः २०८३, ३ बैशाख बिहीबार

(कविता) कुशे औँशी-चन्द्र रावत गुराँस

(कविता) कुशे औँशी-चन्द्र रावत गुराँस


कुशे आँैशीको दिन,बिहानै
फेसबुकका भित्तामा उसले
आफ्ना बाको फोटो देखायो
धेरै लाइक र कमेन्ट पायो
अरुले जस्तै उसले पनि
बाको मुख हेर्ने दिनमा
छोरो हुनुको कर्तब्य पुरा गर्यो

बा हजुरलाई कस्तो छ ?
सन्चो विसन्चो के छ ?
अचेल तातो पानी तताएर कस्ले दिन्छ ?
ग्यास्टिकको दबाई सकियो कि बाँकी छ ?
दमको दबाइ किन्ने पैसा छ छैन ?
दिशापिशाब गर्दा बाहिर भित्र को गराउँछ ?
आफ्ना बालाई, यि तमाम प्रश्न
उसले कहिल्यै सोधेन र सोध्न पनि चाहेन

यस्तै अरु तमाम प्रश्नहरु पनि छन्
उसले सोध्नु पर्ने थियो
बा हजरले लगाइको पुरानो
टालै टाला हालेको सद्धरी च्यातीयो कि बाँकि नै छ ?
एउटै भोटो लगाएर कती हिउँद सगियो काट्नु भयो ?
कति बर्षाका झरीमा भिज्नु भयो ?

चस्माको लेन्स बदल्नु भयो कि भएन ?
यसरी नै उसले सोधेन सन्चो बिसन्चो
गरेन सुख दुखका कुरा
त्यो निर्दयी शहरबाट बालाई सम्झेर
न हिउँदमा एउटा सिरक पठायो
न गर्मिमा एउटा झुल पठायो

न बर्षाका झरीमा एउटा छाता पठायो
बालाई नसम्झे पनि उ बाको नाम लेख्न छुटाउँदैन
नियूक्ति पत्रमा, जग्गाको पूर्जामा
शवारी चालक अनुमती पत्रमा,
बैङको खातामा,नागरिकतामा
यस्तै यस्तै दर्जनौ काममा ऊ बाको नाम लेख्छ
उसले सरुवा बढुवा तथा परिक्षाका फारम भर्दा
बाको नाम लेख्न बिर्सदैन
हो,यस्तै आक्कल झुक्कलमा
उसले बालाई सम्झने गर्छ

सानोमा उसलाई कोल्थामा हालेर
माइला साउको पाँच पाथी खेत
एकै दिन जोतीदिने उसका बा
मेलाबाट एक रोटो बचाएर
छोराका लागि ल्याउँथे
टिकुनियाँ र गोल्या घाटबाट
महिनौँ दिनको बाटो खालीखुट्टा हिँडेर
नुन बोकेर ल्याउँथे
बार बण्डालमा भैँसी पालेर
परिवारलाई दुध खुवाउथे
चाडबाडमा ऋण गरेरै भए पनि
आगँनमा खसी ढाल्थे

अनिकाल भन्दा महाअनिकालमा पनि
छोरा छोरीलाई भोकै राखेनन्,नाङ्गै राखेनन्
साउको भारी बोक्दा बोक्दा
बरियाका पाताले तालुका जम्मै रै नरहे पनि
छोराले मागेका सबै खुसीहरु दिए

उसले सरकारी सेवामा जागिर खाएको पहिलो दिन
उसका बाले भूँइमा खुट्टा टेकेनन््
मस्टाको मन्दिरमा बोका चढाए
मेरो छोरो फलानो अड्डामा छ भनि
चार गाऊँ झ्याली पिटे

भन्न त छोराले पनि भनेकै थियो
ठूलो भएपछि बाको सेवा गर्ने छु
जब छोराले शहरमा घर बनायो
जिम्मेवारीको पर्खाल बाहिर ऊ किन बस्यो ?
खै,उसले कसरी बिस्र्यो ?
आफू रोएको बाल्यकाल
हजारौ पटक ओहोर दोहोर गरेको बाटो
घर अगाडीको बेलउतीको रुख

सम्झना हो वा कोसेली
आठ बर्ष पहिले
घर जाँदा लिएको एक किलो स्याउ बाहेक
उसले बालाई दारी काट्ने पत्ती सम्म पठाएको छैन
सलाई,जीरो जुवानो र हात धुने साबुन,
फाटो पुरानो एकसरो कपडा
एक जोर चप्पल
उसले बालाई पठाएको छैन

देउता नबस्ने मन्दिर जस्तो घरमा
उपिँया र उडुसले डेरा जमाएको पुरानो थडोमा
दिन गैसकेको पुराने च्यादर ओडेर
रात काट्छन् उसका बा

खुसी फूलाउने माथिको लेक अँध्यारै छ
थकाइ बिसाउने चौतारो छैन
सुकेका सपनाहरु
बोकेर घडीका काँटा संगै
दिन धकेलेर बस्छन् उसका बा
आँखामा लेखिनसकिने पिंडा छ
जीवनभरी हारेको अनुहारमा
कैयौँ बिरह र बेदनाका धर्साहरु छन्
तैपनि कुशे औँशीको दिन
छोराले बालाई सम्झियो
र फेसबुकका भित्तामा बाको फोटो देखाइदियो

लेखकः

चन्द्र रावत गुराँस
दुल्लू नगरपालीका ७,दैलेख


 

समाचार