जन्मभूमि परिर्वतनको आशा
कृष्णप्रसाद अधिकारी
विगतका दिनहरुलाई सम्झँदै एक युवा आफ्नो जन्मभूमि परिवर्तन भएको आशामा बसेको २८ बर्ष पुगेछ । २८ बर्षमा हेरक दिन विहानीसँंगै अबेर हुन्जेलसम्म त्यही भूमिमा आफ्नो रगत र पसिना बगाउँदै उसले आफ्नो जन्मभूमि परिवर्तन हुने आशा बोकिरहेको छ । आफू जन्मेको ठाउँ राम्रो लाग्नु र परिर्वतन हुने आशा कुन नागरिकमा नहोला ? उ चाहन्छ जन्मभूमिमा विकास, शिक्षा, रोजगारीलगायतका अन्य धेरै कुराको परिवर्तनको आशा उसको मनमा अझै पलाइरहेको छ ।
जुन जन्मभूमिमा पर्यटकीय हिसाबले निकै आकर्षक गन्तव्य हो । प्राकृतिक सुन्दरताको एक टुक्रा हो । आफ्नो जन्मभूमि पर्यटन विकासमा एक पाइलासमेत हिँड्न नसकेको देख्दा उसको आँखा भरी आँसु भरिन्छ । सोच्छ मेरो जन्मभूमि नै आँखाले परिर्वतन भएको, पर्यटनको सम्भावना हुँदाहुँदै प्रचारप्रसारको अभावमा भनौँ या त अन्य कुनै कारण । यस्ता कारण खोज्दै जाँदा गन्ती गर्न सकिने अवस्था नै छैन । यहाँ अहिलेसम्म आन्तरिक तथा वाहृय पर्यटक भित्रिन सकेका छैनन । पर्यटनको प्रचुर सम्भावना बोकेर पनि पर्यटन व्यवसायबाट यस क्षेत्रले कुनै आर्थिक स्रोत प्राप्त गरेको देखिदैन । पर्यटक आउने आशामै बसेको जन्मभूमि कहिले परिर्वतन हुन्छ र यस क्षेत्रमा विकासका मुल फुट्छन त्यो भने हेर्न बाँकी छ । प्रसस्त मात्रामा जडिबुटि पाउने ठाउँमा जडिबुटि संकलन, प्रशोधन मात्र गर्न सके यहाँका आधा जनसंख्यालाई रोजगारी दिन सकिन्छ । यहाँ कुनै यस्तो व्यवस्था नभएकै कारण कतिपय नागरिकहरु विदेशी माटोमा छन् । यस क्षेत्रको केन्द्रबाटै मध्यपहाडी लोकमार्ग समेत जान्छ । स्थानीय सरकारको इज्जेत समेत यसै सडकले राखेको छ ।
दैलेख जिल्लामा रहेका ११ वटा स्थानीय तहमध्ये जिल्ला सदरमुकामदेखि करिब २२ किमी पूर्वमा जाजरकोट र सुर्खेत जिल्लाको सिमानामा पर्ने मेरो जन्मभूमि समुन्द्रि सतहदेखि करिब ३ हजार ३ सय २६ मिटर उचाइमा पर्छ । यस क्षेत्रमा रहेको स्थानीय सरकारको दरबार समुन्द्री सतहदेखि १ हजार मिटरको उचाइमा पर्छ । जाजरकोटसँंग मर्दा पर्दा समेत नजिकको सम्बन्ध स्थापित गरेको यो ठाउँको रहनसहन जाजरकोटसँंग मिल्न जान्छ ।
कृषि, स्लेट ढुंगा र वन सम्पदाका हिसाबले अत्यन्त सम्भावना बोकेको यो ठाउँ कुनै दिन परिवर्तन होला की ? केही भूभाग बेसी, खोच, केही भूभाग मध्यपहाड र केही क्षेत्रहरू उच्च पहाडी क्षेत्रमा पर्ने भएकाले मिस्रित खालको हावापानी यस क्षेत्रमा पाइन्छ । सामाजिक रीतिरिवाज र चाडपर्व, लोपोन्मुख नाच लहरेपैचरी, गर्रा, मारुनी, लोकदोहोरी, लोकगीत, लोकदेउडा, ठाडीभाकालगायतका स्थानीय कला संस्कृतिहरू छन् । मनोरम प्राकृतिक सौन्दर्यता सहितको रमणीय स्थलहरू पर्यटकीय गन्तव्य बन्न सक्ने संभावनायुक्त स्थलहरू बोकेको ठाउँ किन परिवर्तन हुन नसकेको होला भन्ने जिज्ञासा म जस्ता यूवा वर्गमा छ ।
विदेशीएका हजारौँ यूवाहरु खाडिमुलुकमा ज्यानको बाजि लगाएर काम गरिरहेका छन् । तिनीहरुलाई एकपटक जन्मभूमिको मायाबारे सोधौ अनिमात्र जन्मभूमिसँंगको नाता र जन्मभूमिको माया कति हुन्छ थाह हुनेछ । के उनीहरु आफ्नो जन्मभूमिमा केही सम्भावना नभएरै बाहिरिएका हुन् ? यदि जन्मभूमिमा आवश्यक रोजगारी पाएको भए विदेशी माटोमा रगत र पसिना बगाउन बाध्य हुने थिएनन् ।
विकट गाउँ जहाँ टेलिफोन सेवा न त कुनै पत्रपत्रिकाको पहुँच । सूचनाको माध्याम भनेको दैलेखमा एउटा रेडियो मात्र थियो । जसबाट केही सूचना प्राप्त भएपनि अरु कुनै सूचनाको माध्यम नभएको ठाउँ हेर्दा अहिले पनि उस्तै लाग्छ । प्राकृतिक सौन्दर्यले भरिभराउन मेरै जन्मभूमि हरेक किसिमका जडिबुटि विभिन्न किसिमका पत्थर खानीहरु धार्मिक मठ मन्दिर छन् । जन्मभूमिको माया आमाको माया बराबर हुन्छ भन्ने ठान्दाठान्दै कतिपय युवाहरु आफ्नै जन्मभूमिमा सम्भावनाको खोजि गर्दागर्दै कुनै सम्भावना समेत नहँुदा विदेशी भूमिमा रगत र पसिना बगाउँदै जन्मभूमिलाई सम्झिरहेका छन् ।
आफ्नो जन्मभूमिको राम्रो प्रचारको गर्नु आम नागरिकको कतव्र्य हो भन्ने कुराको हेक्का रहेपनि जन्मभूमि परिर्वतन नभएकोले आफू परिवर्तन हुन निस्केका म जस्ता हजारौ व्यतिmले आफ्नो जन्मभूभिको माया मुटुमा राख्दै जन्मभूमि परिर्वतन चाहेका छन् । आफ्नै जन्मभूमिमा चाहे सुन फल्छ तर यहाँ नुनको खोजि गर्नकै लागि बाहिरिनु पर्ने बाध्यता अहिलेको राजनीतिले गरिदिएको छ ।
केन्द्रीकृत शासनको आँखा नपुगेको ठाउँ स्थानीय शासन हुँदासम्म के मरो जन्मभूभि केही परिवर्तन नभएकै हो त भन्ने प्रश्नमा, २८ बर्ष भन्दा पहिलेको कुरा थाह नभएपनि करीब २८ बर्ष यता गाउँमा घाम लागेको बेलामा धुलो उढ्ने । बर्षातमा ६ महिना गाडी चल्ने ६ महिना बन्द हुने सडक मात्र गाउँमा देखेको छु । खोलामा पुल नभएकै कारण स्थानीयले सास्ती खेप्नु परिरहेको छ अनि केको लागि स्थानिय सरकार चाहिएको हो बुझ्न समिरहेको छैन् ।
अधिकांश नागरिकहरु कृषिमा पेशमा आश्रित भएको यो क्षेत्रका केही बासिन्दाहरु बैदेशिक रोजगार, जागिर, व्यापार, ज्याला मजदुरीमा संलग्न भएपनि पैसा कमाएपछी यस क्षेत्रमा नफर्की सुविधा सम्पन्न ठाउँ खाज्दै बाहिर नै बस्ने र विपन्न तथा गरिब नागरिकहरु मात्र गाउँमा बस्ने गरेकोले यो क्षेत्र झनै रित्तो हुँदैगएको छ ।
कृषि उत्पादन अधिकांश कृषकहरुले परम्परागत ढंगले नै लगाईरहेका भएपनि उचित समयका मल तथा कृषिमा आधुनिकीकरण गर्न नसक्दा किसानहरु समेत चिन्तित छन् । यस भेगमा खाद्यन्न, फलफुल (सुन्तला), तरकारी, मसला बाली, बाख्रापालन, आलुखेती, भट्टमास केही मात्रामा गर्दै आएको तथा प्रचुर सम्भावना भने रहेको देख्न सकिन्छ । केरा, ओखर, मौरीपालन, टिमुर खेती, भैसीपालन आदि पनि केही रुपमा गर्दै आएको पुरानो पिढिको समेत अनुभव छ । यति सम्भावना भएको यो भूमि बनाउन चाहेको खण्डमा स्वर्ग भन्दा कम हुने थिएन । तर जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान जस्तै भएको छ । केन्द्रमा भएका एक राजाको नजर नपुगेको विकट भूमिमा विकटकै राजा भएपनि यो क्षेत्र विकासको फट्को मार्ने नसकी किन २८ बर्ष पहिले झै होला प्रश्न गर्न मन लागिरहेको छ ।
२०६२÷६३ को आन्दोलन पछि उदाएको संबिधान सभाको मुद्दालाई नेपालको अन्तरिम संबिधान २०६३ ले संबोधन ग¥यो । नेपालमा पटक–पटक बनेको संबिधानहरुले जनभावना सम्बोधन गर्न नसकेको आरोप खेपिरहेका थिए । जनताले बनाएको संबिधानले नै देशको शासन व्यवस्था चल्नुपर्छ भन्ने बिषयलाई सबैको मनोभावनाले स्विकार ग¥यो । त्यसैको परिणाम स्वरुप २०६४र१२र२८ का दिन नेपालको इतिहासमै पहिलो पटक ६०१ जना सदस्य बोकेको पहिलो संबिधान सभाको निर्वाचन सम्पन्न भयो । १० बर्ष जनताको अधिकारको स्थापना गर्ने मुद्दामा जनयुद्ध गरेको नेकपा माओवादी पहिलो पार्टी बन्न सफल भयो । स्पस्ट बहुमत कुनै पार्टीले प्राप्त गर्न नसकेका कारण पटक–पटक सत्ता परिवर्तनको खेलमै समय बित्यो । फलस्वरुप त्यो संबिधान सभाले जनतालाई जनताको संबिधान दिन सकेन ।
चार पटक समय थप गर्दा पनि उपलब्धी हासील गर्न नसकेपछि २०६९÷२÷१४ मा नेपालको पहिलो संबिधान सभा बाबुराम भट्टराई नेतृत्वको सरकारले बिघटन ग¥यो । अर्बाैको चुनाबी खर्च, ६०१ जनाको संबिधान सभाको खर्च र विकासमा ठुलो उपलब्धी हासिल गर्न सकिने पाँच बर्ष देशलाई आर्थिक भार बोकाएर बिदा भयो । दलहरुलाई असफल साबित गरेको यो समयले फेरि दोस्रो पटक पुरानै मुद्दामा चुनाबी कुरा अघि बढाउन थाल्यो ।
जसका लागि तत्कालिन समयका प्रधान न्यायधिश खिलराज रेग्मीको नेतृत्वमा सत्ता हस्तान्तण गरी दोस्रो संबिधान सभाको चुनाब गराउने जिम्वेबारी सुम्पियो । दलहरुको आत्मसमर्पणबाट बनेको कर्मचारी नेतृत्वको सरकारले पुनः पुरानै दलका पुरानै अनुहारलाई लिएर २०७०÷८÷४ का दिन दोस्रो संबिधान सभाको निर्वाचन सम्पन्न ग¥यो । यसपटक बनेको संबिधान सभामा करिब दुई बर्षको समय खर्चिएर २०७२÷६÷३ मा संघीय नेपालको नयाँ संबिधान सुशिल कोईराला नेतृत्वको सरकारले दिन सफल भयो ।
पहिलो संबिधान सभाको निर्बाचनपछि एकाएक उठेको संघीय नेपालको मुद्दालाई मुर्तरुप दिनका लागि एक संघीय सरकार, सात प्रदेश, सात सय ५३ स्थानीय तह गरी सात सय ६१ वटा सरकार बनाईयो । नयाँ संबिधानले व्यवस्था गरे अनुरूप स्थानीय तहको २०७४ असारमा र प्रदेश र संघको २०७४ मंसिरमा गरी तीनै तहका सरकारको लागि निर्वाचन सम्पन्न भयो । दुई चरणमा सम्पन्न भएको निर्वाचनले लामो समयदेखि नेतृत्व बिहिन बनेका स्थानीय निकायलाई तहमा परिणत गरी नेतृत्व दिन सफल भयो ।
विकासको आधार गाउँ गाउँमा सिंहदरबार भन्ने नारा स्थानीय तहलाई हेरेर परिकल्पना गरिएको हो । केन्द्रले नदेखेका आँखालाई स्थानीय तहको चस्मा लगाएर हेर्नका लागि स्थानीय सरकारलाई ठुलो अपेक्षा गरेको हुनुपर्छ । संघिय सरकारको आँखाका लागि स्थानीय सरकारको चस्माको पावर मिल्यो कि मिलेन ? पिछडिएका क्षेत्रको विकास गर्ने उदेश्य पूरा गर्न स्थानीय तह सक्षम भए कि भएनन् ? आफ्नो क्षेत्र विकास र समृद्धिका लागि स्थानीय सरकारसँग के के योजना छन् ? के स्थानीय सरकारहरुले गाउँ गाउँमा सिंहदरबारको सुबिधा पु¥याउन सफल छन् त ? भन्ने विषयमा बहसहरु बनेका छन् तर यिनै ७ सय ५३ वटा स्थानीय तह मध्यको दैलेख जिल्लाको एक स्थानीयतह मेरै जन्मभूमि हो यहि जन्म भूमिको विकास र समृद्धिको लागि आफ्नै नीति, रणनीति, विकास योजना बनाउन पाउने स्थानीयतहसँगको अधिकार रहेको छ । अहिले देशको बजेटको ठूलो हिस्सा स्थानीय तहमा जान्छ । यसरी आएको रकम सदुपयोग नभएर दुरुपयोग भएका कयौँ उदाहरणहरु देख्न र सुन्न पाइन्छ । स्थानीय तहमा अधिकार धेरै भएपनि यहाँ स्थानीय जनतालाई अहिलेका सरकारहरुले केही अनुभूति दिलाउन नसकेकै कारण स्थानीय तहमा सिंहदरबार नभएर सिंह मात्र आएको जनताको गुनासो छ ।
मेरो जन्मभुमिको सरकार प्रमुखमा ५ बर्षसम्मको लागि नेकपालाई जनताले भोट दिएर परीक्षण कालको लागि नेतृत्व दिएका छन् । यहि सरकारले चाहेको भए । साच्चै मेरो जन्मभूमि स्वर्ग हुने थियो । तर जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान यहाँ मेल खाएको छ । हुन त यो सरकार हुनु भन्दा पहिलेपनि स्थानीय तहमा भद्र भलादमीहरु हुन्थे तिनीहरुले पनि कुनै माखो मारेनन् । केवल गरे त आफ्नै दुनो सिधा गरे सुविधा सम्पन्न ठाउँमा बसे अहिलेका सरकार प्रमुखहरु पनि त्यही आशामा नहोलान् भन्ने कुनै आधार छैन् । सरकारमा गएको ३ बर्षमा समेत कुनै उपलब्धी गर्न नसक्नु सरकारको कमजारी नै भएको ठान्दछु ।
अहिले स्थानीय तहमा भएको बेरुजुको हिसाब हेर्दा स्थानीय तहको असफलता सहजै अनुमान गर्न सकिन्छ । स्थानीय तहको कार्यलाई नियाल्दा यो स्थानीय सरकारसँग विकासको ठोस योजना छैनन् । संघीय सरकारबाट प्राप्त बजेट कनिका सरी छर्ने र विकासको नाममा बाटोको ट्रयाक विस्तार बाहेक ठोस उपलब्धिको काम गरेको देखिदैन योजना नबनाउने, बनेका योजना कार्यान्वयन नहुने, कार्यान्वयन भएका योजना सम्पन्न गर्न नसक्ने र सम्पन्न भएका योजना गुणस्तरीय नहुने हाम्रो नियती हो । बाटोमा दुईरचार दिन डोजर दौडाउने, कृषि विकासका लागि दुईरचार बोट फलफुल बाड्ने, पशुपालनको लागि दुईरचार बटा बाख्रा बाँड्ने, रोजगारी श्रृजनाको नाममा दुई÷चार जना युवालाई बाटोमा झार उखेल्न लगाउने, प्राप्त बजेट अन्धाधुन्ध खर्च गर्ने र त्यो पनि ठुलो हिस्सामा बेरुजु बस्ने स्थानीय सरकारका कार्यशैलीका नमूना भनिएका उदाहरणहरु हुन । सधैका सरकारका काम कारवाहीहरु यस्तै भए कहिल्यै यो जन्मभूमि परिवर्तन हुन सक्दैन की भन्ने निराशा बोक्दै जन्मभूमिको माया र परिर्वतनको आशा बोकेको छु ।
लेखक अधिकारी विगत ५ बर्ष देखि पत्रकारीता गर्दे आएका छन् ।




