Loading... आजः २०८३, २७ जेष्ठ बुधबार

भरपर्दो स्वास्थ्य सेवा

स्वस्थ भएर जिउनु नै हरेक नागरिकको सबैभन्दा पहिलो विकास हो । जुन ठाउँका नागरिकहरुलाई शिक्षा र स्वास्थ्य स्तरीय र निःशुल्क हुन्छ, त्यसलाई सुखी र समृद्ध मानिन्छ । तर दैलेखका नागरिकले भने जिल्लामै स्तरिय स्वास्थ्य सेवा पाउनु सपना जस्तै बनेको छ । न त गुणस्तरिय शिक्षा न त स्तरिय स्वास्थ्य सेवा । अघिल्ला बर्षहरुमा सिटामोल समेत नपाएका समाचारहरुले स्थानीय देखि राष्ट्रिय स्तरका सञ्चारमाध्यममहरु रंगिए । अहिले पनि धेरै जस्ता स्वास्थ्य संस्थाहरुमा सरकारले निशुल्क उपलब्ध गराउन भनेको औषधी पाईदैन् । जसको फलस्वरुप गरिब नागरिकहरुले मेडिकलहरुमा महंगोमा औषधी किन्न बाध्य छन् ।

यो जिल्लाको लागि दुर्भाग्य हो । विश्वमा समाजवादी भनिएका र त्यस दिशामा उन्मुख मुलुकमा शिक्षा र स्वास्थ्य क्षेत्र प्रायः निःशुल्क छन् । हाम्रो संविधानले मुलुकलाई समाजवाद उन्मुख भनेको छ । त्यस दस्तावेजको सम्मानका लागि पनि यी क्षेत्रमा सुधार हुनु आवश्यक हो । यस क्षेत्रको सुधारका लागि विभिन्न क्षेत्रबाट प्रयासहरु पनि भएका छन् । सरकारले पनि केही हदसम्म प्रयास गरेको देखिन्छ । नागरिक समाजका अगुवाहरूले आ–आफ्नो क्षेत्रबाट शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि दबाब सिर्जना गरिरहेका छन् । सरकार देश र जनताको हितमा भन्दा पनि कमिसनखोर, दलाल र दलीय वा गुटगत स्वार्थमा मात्र रुमल्लिएको छैन भन्ने प्रमाणित गर्नका लागि ग्रामिण क्षेत्रका नागरिकहरुलाई भरपर्दो र स्तरिय स्वास्थ्य सेवा प्रदान गराउने र निशुल्क सेवा दिने वातावरण सृजना गर्नुपर्छ ।

स्वास्थ्य सेवा मात्र नभई गुणस्तरिय शिक्षा विशेष प्राथमिकतामा राखिनुपर्छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्नुपर्छ । बाटो, सडक, पुलजस्ता भौतिक निर्माणलाई मात्रै विकास नभई स्वास्थ भएर जिउनुलाई पनि विकासका रूपमा बुझ्नुपर्छ । आम नागरिकहरुलाई भरपर्दो र स्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान जानुपर्छ ।

समाचार